ट्रेन्डिङ

वीरगन्जको तनावप्रति एमाले नेता प्रभु हजाराको साझा शान्ति अपील : ‘धर्मभन्दा मानवता ठूलो’

वीरगन्ज । एमालेका केन्द्रीय सदस्य तथा पूर्वसांसद प्रभु हजाराले वीरगन्जमा उत्पन्न समुदायबीचको तनावप्रति गम्भीर चासो व्यक्त गर्दै हिन्दू–मुस्लिम दुवै समुदायलाई शान्ति, संयम र सद्भाव कायम गर्न हार्दिक अपील गरेका छन्।

मंगलबार सार्वजनिक गरिएको साझा शान्ति अपीलमा नेता हजाराले धर्म र जात फरक हुन सक्ने भए पनि सबैको साझा पहिचान मानवता भएको उल्लेख गरेका छन्।

“धर्मभन्दा ठूलो मानवता हो। कुनै पनि किसिमको जातीय वा धार्मिक हिंसाले समाजलाई कमजोर बनाउँछ,” उनले भनेका छन्।

हिन्दू–मुस्लिम सद्भाव वीरगन्जको पहिचान भएको उल्लेख गर्दै हजाराले घृणा होइन, प्रेम र भाइचाराको बाटो रोज्न सबैलाई आग्रह गरेका छन्।

उनले मस्जिद होस् वा मन्दिर, दुवै स्थानबाट निस्कने सन्देश शान्ति र प्रेम नै हुनुपर्नेमा जोड दिएका छन्।

नेता हजाराले दंगा, द्वेष र हिंसा त्यागेर हातमा हात मिलाउँदै अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै जातीय वा धार्मिक उक्साहटमा नफस्न सबैलाई सचेत गराएका छन्।

“नेपाल हाम्रो साझा घर हो, यसलाई नफरतले होइन, सद्भावले जोगाउनुपर्छ,” अपीलमा उल्लेख छ।

धर्मको नाममा अशान्ति फैलाउने जो–कोही भए पनि तिनको छानबिन गरी कानुनअनुसार कारबाही गर्न नेपाल सरकारसँग उनले जोडदार माग गरेका छन्।

साथै, वीरगन्जलाई शान्ति, सहअस्तित्व र एकताको सहरका रूपमा जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा उनले राखेका छन्।

“जय वीरगन्ज, जय जनता” भन्ने नारासहित नेता हजाराले शान्ति र सद्भाव नै वीरगन्जको वास्तविक पहिचान भएको पुनः स्मरण गराएका छन्।

Screenshot

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै