ट्रेन्डिङ

वीरगन्जमा पत्रकार साहमाथि आक्रमण, नेपाल पत्रकार महासंघ पर्साको कडा आपत्ति

वीरगन्ज । नेपाल पत्रकार महासंघ पर्सा शाखाले धार्मिक समुदायको नाममा गरिएको प्रदर्शनका क्रममा सञ्चारकर्मीमाथि भएको आक्रमण र दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका अनुसार केही समययता विभिन्न धार्मिक समुदायले वीरगञ्जलगायतका स्थानमा आयोजना गरेका प्रदर्शनको समाचार संकलनमा खटिएका सञ्चारकर्मीहरू माथि आक्रमण हुनुका साथै समाचार संकलनमा अवरोध सिर्जना गरिएको छ।

यसै क्रममा सोमबार  ‘भोजपुरी टाइम्स’ दैनिकका कार्यकारी सम्पादक सञ्जय साहले प्रदर्शनको दृश्य खिचिरहेको अवस्थामा प्रदर्शनकारीबाट मोबाइल खोसी दुव्र्यवहार गरिएको घटनाप्रति महासंघले कडा आपत्ति जनाएको छ।

महासंघले पत्रकारमाथि हुने यस्ता आक्रमण र अवरोध प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकविरुद्ध भएको भन्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेको छ।

शान्तिपूर्ण प्रदर्शनका नाममा सञ्चारकर्मीमाथि आक्रमण गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको महासंघका पर्सा सचिव बिजय महतोले जनाए ।

साथै सञ्चारमाध्यम र पत्रकारहरूलाई धार्मिक, जातीय तथा साम्प्रदायिक सद्भावमा प्रतिकूल असर पर्ने सामग्री प्रकाशन तथा प्रसारण गर्दा संयम र सावधानी अपनाउन महासंघको आग्रह छ।

पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७५) अनुसार सबै जात, धर्म, भाषा र संस्कृतिको सम्मान गर्दै समाचार सम्प्रेषण गर्नुपर्ने महासंघको धारणा छ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाले प्रेस स्वतन्त्रताको सम्मान गर्न, पत्रकारको सुरक्षा सुनिश्चित गर्न तथा धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै