जनकपुर। धनुषा प्रहरीले धार्मिक हिंसा भडकाउने तीनजनालाइ पक्राउ गरेको छ ।
सामाजिक सञ्जालमार्फत हिन्दु समुदाय लक्षित नकारात्मक सन्देश पोस्ट गर्ने दुइजना मुस्लिम युवक र मस्जिदमा तोडफोडसहित धार्मिक ग्रन्थ जलाउने एक हिन्दु समुदायका युवक गरी तीन जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार कमला नगरपालिका–६ का १९ वर्षीय हैदर अंसारी र १९ वर्षीय अमानत अंसारी तथा २५ वर्षीय कपिल भनिने राम प्रताप साह पक्राउ परेका हुन्।
प्रहरीका अनुसार हैदर र अमानतले टिकटकमार्फत अफवाह फैलाउने, अपशब्द प्रयोग गर्दै समुदाय लक्षित पोष्ट गरेको आरोप छ।
यस्तै, साहलाई कमला–६ सखुवा टोलस्थित मस्जिदमा तोडफोड गरी कागजपत्र निकालेर धार्मिक ग्रन्थ जलाएको अभियोगमा नियन्त्रणमा लिइएको हो।
धनुषा प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमका अनुसार साहविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १५५ (धर्म सम्बन्धी कसुर) बमोजिम जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ।
हैदर र अमानतविरुद्ध सोही संहिताको दफा १५६ अन्तर्गत अदालतबाट म्याद थप भई अनुसन्धान जारी रहेको उनले बताए।
प्रवक्ता बमले टिकटक, फेसबुक, ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा धार्मिक आस्थामा खलल पुर्याउने खालका स्टाटस, अडियो वा भिडियो पोष्ट गर्ने, लाईक, शेयर वा कमेन्ट गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारे ।
