ट्रेन्डिङ

धनुषामा ‘मस्जिद तोडफोड गर्ने तथा कुरान जलाएको’ घटनाको निष्पक्ष छानविन गर्नुपर्ने मागसहित गृहमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौँ । धार्मिक अल्पसंख्यक समुदायमाथि बढ्दै गएको आक्रमण, बिग्रँदो शान्ति–सुरक्षा अवस्थाप्रति सङ्घीय गणतान्त्रिक गठबन्धनले गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

सङ्घीय गणतान्त्रिक गठबन्धन तथा यसमा आबद्ध नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी र नेपाल जनजागृति पार्टीले आइतबार गृहमन्त्री ओमप्रकाश खनाललाई ज्ञापनपत्र बुझाएको हो ।

गठबन्धनका संयोजक रिजवान अन्सारीको नेतृत्वमा गएको टोलीले गृहमन्त्री खनाललाई ज्ञापनपत्र बुझाउँदै यस्ता कार्य तत्काल रोक्न माग गरेको छ ।

असामाजिक तथा आपराधिक तत्वहरूले योजनाबद्ध रूपमा धार्मिक अल्पसंख्यक समुदायमाथि आक्रमण गरी सामाजिक सद्भाव विखण्डन गर्न खोजिरहेको आरोप उनीहरुको छ।

यस्ता गतिविधि आपराधिक मात्र नभई राजनीतिक अस्थिरता सिर्जना गर्ने, गणतान्त्रिक व्यवस्था कमजोर बनाउने र मुलुकलाई अराजकतर्फ धकेल्ने षड्यन्त्रको हिस्सा भएको गठबन्धनको ठहर छ।

शनिबार धनुषा जिल्लाको कमला नगरपालिका–६ मा रहेको मस्जिदमा जबरजस्ती प्रवेश गरी तोडफोड गर्नु तथा पवित्र कुरान पाक जलाउनु निन्दनिय भएको संयोजक अन्सारीले बताए ।

यस्ता कार्यले संविधानप्रदत्त धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र धार्मिक अल्पसंख्यक समुदायको सुरक्षामाथि आक्रमण गरिएको उनको भनाई छ ।

अल्पसङ्ख्यकहरुमाथि हुने आक्रमण दोहोरिए मुलुक दीर्घकालीन अशान्ति, अविश्वास र साम्प्रदायिक तनावतर्फ उन्मुख हुने उनको चेतावनी छ ।

धनुषा घटनाको निष्पक्ष छानबिन गर्न, दोषीहरूमाथि कडा कानुनी कारबाही गर्न, धार्मिक अल्पसंख्यक समुदायको जीवन, सम्पत्ति र धार्मिक स्वतन्त्रताको पूर्ण सुरक्षा सुनिश्चित गर्न तथा आगामी निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउन विशेष सुरक्षा रणनीति लागू गर्न माग उनीहरुले गरेका छन् ।

मागहरू बेवास्ता गरिए शान्तिपूर्ण तर सशक्त चरणबद्ध राजनीतिक आन्दोलनमा उत्रिन बाध्य हुने स्पष्ट चेतावनी उनीहरुको छ ।

ज्ञापनपत्र बुझाउने टोलीमा मधेस प्रदेशकी पूर्व गृह, कानुन तथा सञ्चारमन्त्री बिमला अन्सारी, नेपाल संघीय समाजवादी पार्टीका उपमहासचिव जनकबहादुर कार्की, पार्टीकी उपाध्यक्ष सीमा खान, उपमहासचिव जावेद अन्सारी, केन्द्रीय सदस्य निर्मला बराललगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै