सर्लाही । सर्लाहीको सागरनाथ वन परियोजनामा कार्यरत एक चौकीदारको हत्या भएको घटना सार्वजनिक भएको छ।
शनिबार साँझ चौकीदार मृत अवस्थामा फेला परेपछि घटनाले जिल्लामा सनसनी मच्चाएको छ।
सर्लाही प्रहरीका अनुसार परियोजनामा खटिएका चौकीदार रामेश्वर महतोको शव शंकास्पद अवस्थामा भेटिएको हो।
प्रहरी प्रवक्ता सरोज राइले चौकीदारमाथि धारिलो हतियार प्रयोग गरी हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट देखिएको जानकारी दिए।
घटनास्थलबाट एक थान बन्चरो समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
घटनाको प्रकृति गम्भीर रहेकाले प्रहरीले सूक्ष्म र गहिरो अनुसन्धान सुरु गरेको छ।
प्रदेश प्रहरी प्रमुख डिआइजी गोविन्द थपलियाका अनुसार घटनाको सत्यतथ्य पत्ता लगाउन विशेष तालिम प्राप्त प्रहरी कुकुर समेत घटनास्थलमा परिचालन गरिएको छ।
हत्या गरिएका चौकीदार महतो सर्लाहीको ईश्वरपुर नगरपालिका–२ का बासिन्दा रहेको प्रहरीले पुष्टि गरेको छ।
घटनामा संलग्न व्यक्ति वा व्यक्तिहरूको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।