रौतहट । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले रौतहटको ईशनाथ नगरपालिका–४ लतमरी सीमाक्षेत्रबाट १ लाख १८ हजार रुपैयाँ बराबरको जाली नेपाली नोट बरामद गरेको छ।
साथै जाली नोटसहित तीन जनालाई पक्राउ गरिएको छ।
मंगलबार अपराह्न नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एटी ०९८३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारत बिहार राज्यको पूर्वी चम्पारण चैनपुर ग्राम पञ्चायत निवासी २३ वर्षीय जयप्रकाश कुमार, रौतहट देवाही गोनाही नगरपालिका–४ का २१ वर्षीय गेनालाल पटेल र २० वर्षीय अजय पटेल रहेका छन्।
उनीहरूको साथबाट १ हजार दरका ११८ थान जाली नेपाली नोट बरामद रौतहट प्रहरीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा राखिएको प्रहरीले जनाएको छ।