ट्रेन्डिङ

एनपीएलमा आज दुई खेल: जनकपुर–चितवन र पोखरा–कर्णाली आमनेसामने

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणअन्तर्गत आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दुई महत्वपूर्ण खेल हुँदैछन्।

पहिलो खेल बिहान ११:४५ बजे जनकपुर बोल्ट्स र चितवन राइनोजबीच हुने छ।

पाँच खेलको यात्रा निर्णायक बन्दैगएको अवस्थामा चितवनले ४ खेलमा २ जित र २ हारसहित ४ अंक जोडेर प्लेअफ सम्भावना जोगाइरहेको छ।

कर्णाली याक्सलाई सुरुआतमा हराएका चितवन लुम्बिनी लायन्स र काठमाडौं गोर्खाजसँग पराजित भएको थियो भने विराटनगर किङ्सलाई हराउन सफल रह्यो।

आजको खेल जिते चितवनको प्लेअफ यात्रामा बल पुग्नेछ। चितवनले अझै सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्ससँग खेल्न बाँकी छ।

जनकपुर बोल्ट्स भने लगातार चार खेलमा पराजित हुँदै तालिकाको तल्लो स्थानमा छ।

काठमाडौँ गोर्खाज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेको जनकपुरका लागि आजको खेल ‘कर वा मर’ समान छ।

आज पराजित भएमा जनकपुर प्रतियोगिताबाट बाहिरिनेछ। जितेमा मात्र गणितीय रूपमा प्लेअफ सम्भावना कायम रहनेछ।

त्यस्तै आज अपराह्न ४ बजे दोस्रो खेल पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच हुनेछ।

चारमध्ये एक खेल जितेको पोखराले आज जित हात पारे प्लेअफको दौडमा फाइदा लिनेछ।

पाँच खेलमा एक जित मात्रै दर्ता गरेको कर्णाली आज पराजित भएमा प्रतियोगिताबाट बाहिरिनेछ।

दुवै खेल प्लेअफ समीकरणका आधारमा अत्यन्तै महत्त्वपूर्ण हुनेछन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै