वीरगन्ज । बाराको सिमरामा गोली चलेको छ ।
कर्फ्यूको अवज्ञा गर्दै जेनजी युवाहरु सडकमा उत्रिएपछि प्रहरीले गोली चलाएको हो । जेनजी युवाहरुको प्रदर्शनबाट उत्पन्न हुन सक्ने स्थिति नियन्त्रणमा लिन गोली चलाइएको बारा प्रहरीका डिएसपी बिजयराज पण्डितले बताए ।
उनका अनुसार प्रहरीले दुई राउण्ड हवाइ फायर गरेको हो । यसैगरी भिडलाइ तितरबितर पार्न प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको उनले बताए ।
जेनजी समूहको आन्दोलनले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालयले बिहिबार दिउँसो १ बजेदेखि राती ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको थियो । यद्यपी जारी कर्फ्यूको अवज्ञा गर्दै जेनजी युवाहरु आन्दोलित छन् ।
सिमरामा जेनजी युवाहरुले तत्कालिन सरकारविरुद्ध बुधबार शान्तीपूर्ण प्रदर्शन गरेका थिए । सोहिबिच एमालेका केही कार्यकर्ताहरुले जेनजी युवाहरुमाथि कुटपिट गरि घाइते बनाएको उनीहरुको आरोप छ
जेनजीले आफ्ना युवालाई कुटपिट गर्नेहरूलाई नियन्त्रणमा लिन माग गर्दै बिहिबार बिहानैदेखि प्रदर्शन गरिरहेका छन् । यता प्रहरीले दुई वडाध्यक्षलाइ पक्राउ गरि कारवाहि अघि बढाइएको जनाएको छ । पक्राउ पर्नेहरुमा जितपुर सिमरा वडा नम्बर–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर–६ का अध्यक्ष कैमुद्दिन अन्सारी छन् ।