वीरगन्ज। वीरगन्ज महानगरपालिकास्थित छपकैयामा एक शंकास्पद सुटकेश भेटिएपछि सुरक्षा सतर्कता अपनाइएको छ।
आज साँझ छपकैयास्थित एक बिरयानी हाउस पसल अगाडि राखिएको सुटकेशबारे स्थानीयले सूचना दिएपछि प्रहरी र सेनाको संयुक्त टोली घटनास्थलमा पुगेको हो।
पर्सा प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार सो सुटकेशमा बम भएको आशंका गरिँदै सुरक्षाकर्मीले क्षेत्रलाई पूर्ण रूपमा घेराबन्दी गरेका छन्।
“सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगिसकेको छ। सुटकेशलाई सुरक्षित रूपमा निस्क्रिय पार्ने तयारी भइरहेको छ,” बस्नेतले बताए।
सुटकेश भेटिएको स्थल वरपरको बजार क्षेत्रलाई केही समयका लागि बन्द गराइएको छ भने सर्वसाधारणलाई त्यहाँ आवत–जावत नगर्न आग्रह गरिएको छ।