ट्रेन्डिङ

रौतहटमा आपराधिक गतिविधिमा संलग्न ११ जना फरार पक्राउ, दुईजना जेलबाट भागेका पनि समातिए

रौतहट । रौतहट प्रहरीले पछिल्लो केही दिनमा विभिन्न अपराधमा संलग्न रहेका ११ जना व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ परेकामध्ये दुई जना गत भदौ २४ गते गौर कारागारबाट आन्दोलनकै बीच भागेका कैदी रहेको प्रहरीले पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रबिन कार्कीका अनुसार ‘कर्तव्य ज्यान’ मुद्दामा जेल जीवन बिताइरहेका चन्द्रपुर–१ का ४७ वर्षीय नागेन्द्र माझी गाउँमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी पुनः कारागार पठाइएको हो।

त्यस्तै, देवाही गोनाही–६ का सुधीरकुमार राम, जो जबरजस्ती करणी मुद्दामा थुनुवा थिए, उनी स्वेच्छाले कारागार कार्यालय गौरमा हाजिर भएका हुन्।

प्रहरीले आर्थिक अनियमितता तथा चेक बाउन्सका घटनामा संलग्न दुई जना पनि नियन्त्रणमा लिएको जनाएको छ।

गरुडा–५ का अभयकुमार प्रसाद साहले सापटी लिएको रकम तिर्न नसकी दिएको चेक बाउन्स भएपछि र बौधीमाई–१ का किशोरी प्रसाद यादवले पनि सोही प्रकृतिको आर्थिक ठगी गरेको अभियोगमा पक्राउ परेका हुन्।

अदालतले पहिल्यै सजाय तोकेका राजदेवी–८ का दिनेश कुमार चौधरी कलवारलाई समेत पक्राउ गरी अदालतमा बुझाइएको प्रहरीको भनाइ छ।

त्यसैगरी, कुटपिट र घाइते बनाउने घटनामा संलग्न गरुडा–६ का राजकिशोर यादव, वृन्दावन–३ का युगल किशोर यादव, र माधवनारायण–४ का रामअज्ञा मुखियालाई पनि फरक-फरक मितिमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

आगजनी तथा सम्पत्ति नष्ट गर्ने अभियोगमा वृन्दावन–८ का नईमुद्दिन दर्जी पक्राउ परेका छन्।

उनीमाथि मनोज प्रसाद यादवको घरमा आगो लगाएको आरोप छ।

यसैबीच, गत जेठ १४ गते बिहान गरुडा–६ पोठियाहीमा मर्निङ वाकमा गएका धिरज कुमार राममाथि हतियार देखाई मोबाइल लुट्ने ईशनाथ–३ का २१ वर्षीय मनिष कुमार साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

अदालतको फैसलाअनुसार एक महिनाको कैद सजाय तोकिएका ईशनाथ–७ का जादोलाल साहलाई समेत प्रहरीले पक्राउ गरी अदालतमा पेश गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका सहप्रवक्ता इन्स्पेक्टर रुद्र कँडेलका अनुसार सबै घटनामा संलग्न व्यक्तिहरूमाथि कानुनी प्रक्रिया अघि बढाइएको र थप अनुसन्धान जारी रहेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै