वीरगन्ज । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेकपा एमाले निर्वाचनबाट कहिल्यै नभागेको र अब पनि नभाग्ने स्पष्ट पारेका छन्।
प्रेस चौतारी नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले एमाले जनताको रोजाइको पहिलो पार्टी भएकाले जनमतबाट अलग हुने कल्पना गर्न नसकिने दाबी गरे।
यद्यपि, उनले वर्तमान सरकार आफैँ ‘संवैधानिक परीक्षण’बाट गुज्रिनु पर्ने अवस्था रहेको टिप्पणी गर्दै अहिले निर्वाचनको कुरा गर्नु ‘केटाकेटीपन’ हुने बताए।
‘नहुने चुनावमा हामी भाग लिन्छौँ भन्दै हिँड्ने कुरा केटाकेटीपन हुन्छ जस्तो लाग्छ। किनकि चुनाव गराउने सरकार नै संवैधानिक परीक्षणबाट गुज्रिनु पर्ने अवस्था छ।’
महासचिव पोखरेलले निर्वाचनमा जानका लागि शान्ति सुरक्षाको अवस्था सुनिश्चित नभएको र आम नागरिक तथा राजनैतिक दलहरू चुनावमा सहभागी हुने वातावरण नभएको भन्दै अहिलेको सरकार निर्वाचनको बाटोतिर हिँडेको नदेखिएको तर्क गरे।
यसैगरी, महासचिव पोखरेलले नेकपा एमालेबाट अलग भएकाहरूलाई पार्टीमा फर्कन ढोका खुला रहेको बताएका छन्। उनले घरका सन्तानहरू फर्किँदा कुनै अनुमति लिन नपर्ने भन्दै फर्कन चाहने सबैलाई स्वागत गरिने बताए।
तर, पोखरेलले पार्टीमा फर्किँदा एउटा शर्त भने राखेका छन् । ‘नीति र नेतृत्वका प्रश्नमा चाहिँ सहमति गरेर आउनुस्।’ उनले यी दुई प्रश्नमा सहमति जनाउने जो कोहीका लागि एमालेको ढोका सधैँ खुला रहने बताए। क्षमताका आधारमा पार्टीले उनीहरूलाई यथोचित जिम्मेवारी प्रदान गर्ने पनि उनले आश्वासन दिएका छन्।
महासचिव पोखरेलले यस क्रममा जेन–जी पुस्ताको आन्दोलनलाई आकस्मिक र अस्वभाविक ‘भूकम्प जस्तै’ भएको टिप्पणी गरेका थिए।