ट्रेन्डिङ

प्रहरीको ‘अवैध’ छापा र कुटपिटपछि जनकपुरका व्यापारी आन्दोलित

जनकपुरधाम। धनतेरस पर्वको पूर्वसन्ध्यामा जनकपुरधामस्थित सुनचाँदी बजारमा भएको घटनाको निष्पक्ष छानबिन र दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै जनकपुरधाम उद्योग वाणिज्य सङ्घ आन्दोलनमा उत्रिएको छ।

प्रहरीको बल प्रयोगका क्रममा सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी घाइते भएपछि व्यापारीहरूले दुई चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेका छन्।

प्रहरीको ज्यादतीको विरोध स्वरूप जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आह्वानमा आजदेखि व्यापारीहरूले कालोपट्टी बाँधेर र व्यापारिक प्रतिष्ठानहरूमा कालो झन्डा झुन्ड्याएर व्यवसाय सञ्चालन गरिरहेका छन्। व्यापारीहरूले कार्तिक १७ गतेसम्म यसैगरी शान्तिपूर्ण विरोध जारी राख्ने जनाएका छन्।

विवाद धनतेरसको पूर्वसन्ध्यामा प्रहरीले सुनचाँदी बजारमा गरेको छापा मार्ने क्रममा उत्पन्न भएको थियो। प्रहरीले अवैध सुनचाँदी रहेको सूचनाको आधारमा पसलमा छापा मारेर ७ किलो चाँदी नियन्त्रणमा लिएको थियो।

प्रहरीले छापा मार्ने नाममा चाँदी लुटेको आरोप लगाउँदै व्यापारीहरूले प्रतिवाद गर्न खोजेपछि स्थिति तनावग्रस्त बनेको थियो। सोही क्रममा प्रहरीले बल प्रयोग गर्दा जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारी कुटपिटबाट घाइते भएका थिए।

पहिलो चरणको विरोध कार्यक्रमबाट पनि माग सम्बोधन नभएमा सङ्घले कार्तिक १८ गतेदेखि थप कडा आन्दोलन गर्ने चेतावनी दिएको छ। सो दिन बिहान ९ बजे नगर परिक्रमा गर्ने, दिउँसो १२ बजेसम्म सबै पसल बन्द गर्ने तथा जनक चोकमा कोणसभा र पत्रकार सम्मेलनको आयोजना गर्ने कार्यक्रम तय गरिएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै