ट्रेन्डिङ

उपचार खर्च अभावमा बहुदरमाईका मृतकको शव अस्पतालको फ्रिजमै

दोषी फरार परिवारमाथि दोहोरो मार

वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिकाका एक वृद्धको सवारी दुर्घटनापछि उपचारका क्रममा निधन भएपछि परिवारले अस्पतालको लाखौं रकम तिर्न नसक्दा शव बुझ्न पाएका छैनन्।

परवानीपुरस्थित एक निजी अस्पतालले उपचार खर्च नबुझाएसम्म शव फिर्ता नदिने अडान लिएको छ।बहुदरमाई नगरपालिका–४ डोकेला बहुअरीका ५५ वर्षीय महेन्द्र राउत अहिरको शव वीरगन्ज गण्डकस्थित नेपाल मेडिसिटी वयोद्या हस्पिटलको फ्रिजमा राखिएको छ।

मृतकका भतिज रमेश यादवका अनुसार, गत असोज १८ गते साँझ ५ बजे डोकेला चोकमा पैदल हिँडिरहेको बेला बहुदरमाई नपा–१, ध्यानसिंह पिपरा बस्ने मन्देश साह तुरहा सवार मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो। तीनजना सवार मोटरसाइकलको ठक्करपछि गम्भीर घाइते भएका राउत १७ दिनदेखि अस्पतालमा उपचारार्थ भर्ना थिए।

टाउकोको शल्यक्रियासहित लामो उपचारपश्चात् हिजो बिहान उनको निधन भएको हो। अस्पताल प्रशासनका अनुसार उपचारमा कुल ९ लाख रुपैयाँ खर्च भएको छ। ठक्कर दिने तुरहाले डेढ लाख र परिवारजनले गर्दा हालसम्म जम्मा २ लाख रुपैयाँ मात्रै अस्पतालमा जम्मा गरिएको छ। बाँकी रहेको ७ लाख रुपैयाँ तिर्न नसक्दा अस्पतालले शव फिर्ता गर्न मानेको छैन।

यसै विषयमा अस्पतालको प्रशासन शाखाका विष्णु पटेलसँग बुझ्दा उनले अस्पतालले उपचार खर्च मागेको स्पष्ट पारे । पटेलका अनुसार, अस्पतालले कानूनीरूपमा उपचार खर्च परिवारजनले बेहोर्ने गरी मञ्जुरीनामा बनाएर सहीछाप गराएपछि मात्र उपचार शुरू गरेको थियो। त्यसैले, उपचार खर्च पूर्ण रूपमा नतिर्दासम्म अस्पतालले शव फिर्ता नदिने उनले बताए ।

‘उपचार गरेको खर्च त उहाँहरुले दिनु पर्यो नि, हामीले सुरुदेखि नै खर्च ल्याउनुस भनिरह्यौ, उहाँहरुले सबै हिसाब पछि हुन्छ भन्नु भयो, अब आएर पैसा छैन, कहिले को आएको छ, कहिले कसरी गर्ने भन्नु हुन्छ । अस्पतालको ५ लाख ७३ हजार जति बाँकी छ । उहाँहरुले बुझाउनु भयो भने अलि डिस्काउन दिएर शव दिन सकिन्छ ।’, पटेलले भने ।

पीडित परिवारका सदस्य रमेश यादवले मृतकको परिवारको आर्थिक अवस्था निकै कमजोर रहेको र आफन्तजनले सहयोग गर्दा पनि डेढ लाख मात्र पुगेको बताएका छन्। मृतकको एक श्रीमती र एक पूर्ण अपाङ्ग छोरा रहेकोले घरको आर्थिक स्थिति नाजुक रहेको परिवारजनले जनाएका छन्।

मृतक महेन्द्र राउतलाई ठक्कर दिने मोटरसाइकल चालक मन्देश साह तुरहा घटनापछि फरार छन्। इलाका प्रहरी कार्यालय पोखरियाले ठोकर दिने व्यक्ति फरार रहेकाले उनीहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको जनाएको छ।

परिवारजनले प्रहरीसँग तुरहालाई तत्काल पक्राउ गरी क्षतिपूर्ति र बाँकी उपचार खर्च दिलाउन पहल गरिदिन अपील गरेका छन्। दोषी फरार रहनु र अस्पतालले मानवीय पक्षलाई बेवास्ता गरी शव रोक्नुले पीडित परिवारमाथि दोहोरो आर्थिक तथा मानसिक भार परेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै