वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्साले गत असोज महिनामा भएको एक जघन्य हत्याकाण्डका तीन जना प्रतिवादीहरूलाई पुर्पक्षका लागि वीरगन्ज कारागार कार्यालयमा चलान गरेको छ।
गत असोज १४ गते राती करिब २३ः३० बजेको समयमा जिल्ला पर्सा वीरगन्ज महानगरपालिका वडा नं. १०, गीता मन्दिर सडक छेउमा लागेको गहवामाईको मेलामा वर्ष २० का गोल्डेन भन्ने शिवम साह कानुलाई कुटपिट तथा चक्कु समेत प्रहार गरी हत्या गरी मारिएको थियो।
प्रहरीले अनुसन्धान पश्चात बारा परवानीपुर गाउँपालिका वडा नं. ९ भइ वीरगन्ज–१० मा बस्दै आएका गोल्डेनको हत्यामा संलग्न रहेको आरोपमा ५ जनालाई र पछि पक्राउ परेका एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको थियो । प्रतिवादीहरूलाई पर्सा जिल्ला अदालतमा पेश गरेको थियो। ती मध्ये चार जनालाई पुर्पक्षका लागि वीरगन्ज कारागार कार्यालयमा चलान गरिएको छ। प्रारम्भिक अनुसन्धानबाट प्रतिवादीहरू ‘खुनी दरिन्दे’ नामक समूहसँग सम्बन्धित रहेको खुलासा भएको थियो।
वीरगन्ज कारागार कार्यालयमा चलान भएका प्रतिवादीहरूमा वीरगन्ज महानगरपालिका वडा नं. २४, रामगढवा बस्ने वर्ष १९ का गौतम पटेल, सोही ठेगानाका वर्ष २० का सुभांकर चौरसिया र वर्ष २२ का अमिरी पटेल भन्ने करण प्रसाद पटेल रहेका छन् भने एक जना रामगढवा–१ का नामथर वतन परिवर्तित ३४ राखेर कारागार चलान गरिएको छ ।