जनकपुरधाम । मधेश प्रदेशको राजनीतिक माहोल अहिले निकै तातिएको छ।
मुख्यमन्त्री जितेन्द्र सोनलले आगामी कात्तिक २२ गते प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गर्दै सत्ता स्थायित्वका लागि दौडधूप तीव्र बनाएका छन्।
गत असोज २९ गते संविधानको धारा १६८ (२) अनुसार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। त्यसको भोलिपल्ट नै उनले जनमत पार्टीका नेता महेश प्रसाद यादव र नेकपा (एकीकृत समाजवादी)का कनिष पटेललाई विना विभागीय मन्त्री नियुक्त गरेर सत्ता संयोजनको प्रारम्भिक संकेत दिएका थिए।
तर अब सोनलको अग्नि परीक्षा कात्तिक २२ गते हुँदैछ । जहाँ उनले विश्वासको मतका माध्यमबाट आफ्नो सरकारलाई वैधानिक समर्थन दिलाउने तयारीमा छन्।
सुरुमा पाँच र अहिले सात दलको सहमतिको आधारमा गठन भएको यो सरकारलाई अहिले ५७ जना प्रदेशसभा सदस्यहरूको समर्थन प्राप्त भइसकेको छ। प्रदेशसभामा हाल १०४ जना सदस्य रहेका छन् र बहुमतका लागि आवश्यक संख्या ५३ हो। त्यस हिसाबले सोनल सुरक्षित देखिन्छन्।
हाल समर्थन जनाउने दलहरूको सूची यसप्रकार छः
जसपा नेपाल — १८ जना
जनमत पार्टी — १३ जना
माओवादी केन्द्र — ९ जना
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) — ८ जना
नेकपा (एकीकृत समाजवादी) — ७ जना
नागरिक उन्मुक्ति पार्टी — १ जना
नेपाल संघीय समाजवादी पार्टी — १ जना
यी सात दलको साथपछि सोनल सरकारले स्थायित्वको सङ्केत दिए पनि राजनीतिक समीकरण कहिले बदलिन्छ भन्न सकिँदैन। त्यसैले मुख्यमन्त्री सोनल पछिल्ला दिनहरूमा नेपाली कांग्रेस र नेकपा एमालेका नेतासँग पनि भेटघाट र परामर्शमा जुटेका छन्।
विश्वासको मत सुरक्षित भएपछि मात्रै उनले मन्त्रिपरिषद् विस्तार गर्ने योजना बनाएका छन्। अहिलेको अवस्थामा उनले स्थायित्वलाई पहिलो प्राथमिकतामा राखेका छन्।