वीरगन्ज । जेनजी आन्दोलनका क्रममा काठमाडौँको महाराजगन्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मिलन राय र जवान उत्तम थापाको हत्या भएको घटनामा प्रहरीले थप ५ जनालाई पक्राउ गरेको छ।
यस घटनाको अनुसन्धानले मधेश प्रदेश, सर्लाहीका एक १७ वर्षीय किशोरसहित विभिन्न जिल्लाका युवाहरूलाई हिरासतमा पुर्याएको छ।
पक्राउ पर्नेमा गोरखाका २१ वर्षीय सोम गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ र २१ वर्षीय युनिक श्रेष्ठ छन्। यसैगरी, सर्लाही घर भएका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर पनि जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। प्रारम्भिक अनुसन्धानले यी युवाहरू नै कुटपिटमा संलग्न रहेको निष्कर्ष निकालेको छ।
यसअघि नै महाराजगन्ज हत्याकाण्डमा संलग्न भएको आरोपमा युवराज क्याप्छाकी, सोनाम तामाङ (बुद्धिलाल थिङ), होम प्रसाद पौडेल र टिकाराम बिकलाई जिल्ला अदालत काठमाडौँको आदेशपछि पुर्पक्षका लागि कारागार चलान गरिएको थियो।
प्रहरी अधिकारीहरूका अनुसार, क्याप्छाकी र थिङले जवान उत्तम थापाको हत्या गरेका थिए भने पौडेल र विक असई मिलन रायको हत्यामा संलग्न रहेको अनुसन्धानको निष्कर्ष छ।
पछिल्लो पटक पक्राउ परेका पाँचै जना विरुद्धको अनुसन्धान सकाएर पूरक अनुसन्धान प्रतिवेदन जिल्ला अदालतमा पेस गरिने जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले जानकारी दिए। सर्लाहीका सुमित तितुङ र दीपक मगरलाई असार ३१ गतेदेखि नै हिरासतमा राखिएकोमा बाँकी तीन जना कार्तिक ३ गते पक्राउ परेका हुन्।