ट्रेन्डिङ

अपराजित नेपालले उचाल्यो टी-२० विश्वकप छनोटको उपाधि

वीरगन्ज। नेपाली क्रिकेट टोलीले ओमनमा भएको आईसीसी टी-२० विश्वकप एसिया-ईस्ट एसिया प्यासिफिक छनोट प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई शानदार अन्त्य दिँदै उपाधि चुमेको छ।

छनोटको अन्तिम खेलमा सामोआलाई फराकिलो अन्तरले पराजित गर्दै नेपालले शतप्रतिशत जितका साथ ट्रफी जितेको हो। यो जितसँगै नेपालले सन् २०२६ मा हुने टी-२० विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ र समूहमा शीर्ष स्थानमा रहन सफल भएको छ। दोस्रो स्थानमा ओमन र तेस्रो स्थानमा युएई पनि विश्वकपमा पुगेका छन्।

​नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८७ रन बनाउन सक्यो। सामोआका लागि सेन सोलियाले सर्वाधिक ४० रन बनाए पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्। नेपालका लागि बलिङतर्फ ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले पनि एकएक विकेट हात पारे।

​त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २११ रनको विशाल योगफल खडा गरेको थियो।

नेपाली ब्याट्सम्यानहरूले उत्कृष्ट प्रदर्शन गर्दै दुई अर्धशतक प्रहार गरे। आसिफ शेखले ४१ बलमा ६९ रनको महत्त्वपूर्ण योगदान दिए भने दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रन बनाएर इनिङ्सलाई बलियो आधार दिए। यस्तै, कुशल भुर्तेलले १७ र आरिफ शेखले ९ रन बनाएर आउट भए। इनिङ्सको अन्त्यमा कप्तान रोहित पौडेलले १२ बलमा २१ रन र लोकेश बमले १२ बलमा ३९ रनको विष्फोटक पारी खेलेर टोलीको स्कोरलाई २११ रनसम्म पुर्‍याएका थिए। नेपाली क्रिकेट टोलीको यो सफलताले देशकै खेलकुदमा अर्को उत्साह थपेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै