वीरगन्ज । शुभ दीपावलीको पावन अवसर पारेर पर्साको जगरनाथपुर गाउँपालिकाले गाउँपालिका वडा अध्यक्ष स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरेको छ।
आज मेघराज उपाध्याय क्रिकेट खेलमैदान, मदुवाहँमा आयोजित प्रतियोगिताको उद्घाटन वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले गरेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आलमले गाउँका जनतामा देखिएको खेलप्रतिको उत्साहको प्रशंसा गरे । उनले क्रिकेटले शारीरिक तथा मानसिक रूपमा सबल बनाउने उल्लेख गर्दै टी–२० विश्वकप छनोटमा नेपालले स्थान सुरक्षित गरिसकेको सन्दर्भमा आफूले यो प्रतियोगिताका खेलाडीहरूलाई भविष्यमा राष्ट्रिय टिमबाट खेलेको देख्न चाहेको बताए ।
उपप्रमुख आलमले भने, ‘मेरो पनि क्रिकेट खेलमा बाल्यकालदेखि नै रुचि थियो, म बलरको रूपमा यो खेल खेल्ने गर्थेँ। मलाई विश्वास छ, तपाईंहरू नेपाल टिमबाट खेल्न सक्षम हुनुहुन्छ।’ उनले प्रतियोगिताको सफलताका लागि सबै टिमलाई शुभकामना पनि दिए ।
जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली कांग्रेस पर्साका सहसचिव नवीन सिंह, जगरनाथपुर गाउँपालिकाका उपाध्यक्ष बबिता कुमारी, वडा अध्यक्षहरू लगायत खेलप्रेमी र स्थानीयको बाक्लो उपस्थिति रहेको थियो।