वीरगन्ज। जिल्ला प्रहरी कार्यालय पर्साले वीरगन्ज महानगरपालिकास्थित एक होटलमा छापा मारेर जुवा खेलिरहेका तीन जनालाई पक्राउ गरेको छ।
आइतबार राति करिब ९ः ४५ बजे वीरगन्ज महानगरपालिका–१६, फुलवारी टोलस्थित रोशन रौनियारले सञ्चालन गरेको होटलमा जुवातास भइरहेको विशेष सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
जुवाखालबाटै पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका–१६ बस्ने २० वर्षीय रोहित रौनियार र सोही स्थानका ३० वर्षीय श्यामबाबु राय रहेका छन्। यस्तै, वडा नं. १५ बस्ने २५ वर्षीय अनन्त कुमार गुप्तालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरीले जुवातास खेलिरहेको स्थानबाट नगद पचास हजार सात सय पचपन्न रुपैयाँ र ३ बूक तास समेत बरामद गरेको छ।
पक्राउ परेका तीनै जनालाई जुवा सम्बन्धी कसूरमा जिल्ला प्रशासन कार्यालय पर्साबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए ।