ट्रेन्डिङ

वीरगन्ज दशैँ मेलामा ग्याङ फाइटः एक युवकको ज्यान गयो, ११ सय प्रहरी कहाँ हराए ?

वीरगन्ज । ठूलो दशैँ मेलामध्ये एक मानिने वीरगन्जको दशैँ मेलामा मंगलबार राति भएको ग्याङ फाइटले एक युवकको ज्यान लिएको छ ।

मेला सुरक्षाका लागि ११ सय प्रहरी परिचालन गरिएको उच्च दाबीबीच गिता मन्दिर नजिकै दुई समूहबीच भएको झगडामा २० वर्षीय गोल्डेन नामका युवकको मृत्यु भएको पर्सा प्रहरीले पुष्टि गरेको छ ।

पर्सा प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार मेलामा पसल राख्ने निहुँमा दुई समूहबीच विवाद सुरु भएको थियो ।

सोही विवादकै कारण राति ग्याङ फाइट भयो र गोल्डेनमाथि भाटोले प्रहार गरियो ।

गम्भीर घाइते भएका उनलाई उपचारका लागि नारायणी अस्पताल लैजाने क्रममा राति नै मृत्यु भएको हो ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ ।

तर अनुसन्धानको क्रममा रहेका कारण उनीहरूको नाम गोप्य राखिएको प्रहरीले जनाएको छ ।

“झगडाको वास्तविक कारण अझै खुलेको छैन । नियन्त्रणमा लिइएकाहरुसँग सोधपुछ भइरहेको छ,” डिएसपी बस्नेतले भने ।

घटनापछि मेला सुरक्षामाथि गम्भीर प्रश्न उठेको छ ।

विशेष सुरक्षा योजनाअन्तर्गत ‘मेला सुरक्षाका लागि ११ सय प्रहरी परिचालन’ गरिएको प्रहरीको दाबी भए पनि मुख्य चोक नजिकै भएको घटनामा एक युवकको ज्यान जानु सुरक्षा व्यवस्थामाथि नै ठुलो प्रश्न बनेको छ ।

मृतक गोल्डेनको शव पोस्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै