ट्रेन्डिङ

४१ वर्षको इतिहासमा पहिलोपटक भारत–पाकिस्तान आज एसिया कपको फाइनलमा भिड्दै

वीरगन्ज । बहुप्रतिक्षित एसिया कप क्रिकेटको फाइनल भिडन्त आज हुँदैछ। एसिया कपको ४१ वर्ष लामो इतिहासमा पहिलोपटक चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तान उपाधिका लागि भिड्न लागेका हुन्।

यस खेललाई क्रिकेट विश्वकै सबैभन्दा ठूलो र प्रतिक्षित प्रतिस्पर्धाका रूपमा हेरिएको छ। फाइनल खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समयअनुसार बेलुकी सवा ८ बजे सुरु हुनेछ।

यस संस्करणमा भारत अपराजित रहँदै फाइनल पुगेको छ र टोली उच्च आत्मविश्वासमा छ। यसअघि समूह चरण र सुपर फोर गरी दुई पटक आमनेसामने हुँदा दुवैपटक भारतले पाकिस्तानलाई सजिलै पराजित गरेको थियो।

भारतका अभिषेक शर्मा ३०९ रनसहित ब्याटिङ चार्टको शीर्षस्थानमा छन् भने बलर कुलदीप यादव १३ विकेट लिएर शीर्षमा छन्। तीव्र गतिका बलर जसप्रीत बुम्राह फर्किने सम्भावनाले टोली थप बलियो बनेको छ।

उता, उतारचढावका बाबजुद फाइनल पुगेको पाकिस्तानका कप्तान सलमान आघाले तेस्रो भेटमा भारतलाई हराएर उपाधि जित्न टोली तयार रहेको बताएका छन्।

यो भिडन्त क्रिकेटमा मात्र सीमित छैन। हालैका सैनिक तनावका कारण यस खेलमा राजनीतिक र भावनात्मक दबाब पनि जोडिएको छ। यसअघिका खेलहरूमा खेलाडीहरूले हात नमिलाउने तथा मैदानमा तिक्ततापूर्ण हाउभाउ प्रदर्शन गरेका घटनाहरूले विवाद बढाएका थिए।

भारतीय कप्तान सूर्यकुमार यादवले भने आफ्नो टोलीले डर नभई रणनीतिमा मात्र ध्यान केन्द्रित गर्ने बताएका छन्।

दुबईको स्पिनलाई सहयोग गर्ने पिचमा टस जित्नु निर्णायक हुनेछ, जहाँ एसियाली क्रिकेट काउन्सिलले स्टेडियम फुल हाउस हुने अपेक्षा गरेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै