वीरगन्ज । वीरगन्जमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंग्टाको घरमा जेनजी समूहले आगजनी गर्दा गम्भीर घाइते भएकी घरेलु मजदुर महिलाको १३ दिनपछि उपचारका क्रममा मृत्यु भएको छ।
पर्सा प्रहरीका अनुसार मृतक ४५ वर्षीया शोसिला देवी हजरा कीर्तिपुर बर्न अस्पतालमा उपचाररत अवस्थामा आज निधन भएको हो। उनको शरीरको करिब ५० प्रतिशत भाग जलेको र उपचारकै क्रममा ज्यान गएको पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालले जानकारी दिए।
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा रुंग्टाको वीरगन्ज–१३ स्थित निवासमा अराजक समूहले आगो लगाएको थियो। भीषण आगलागीका कारण पूरै घर ध्वस्त भएको र त्यसबेला घरमा काम गरिरहेका मजदुरहरूसमेत फसेका थिए।
स्थानीयको सहयोगमा अधिकांशलाई उद्दार गरिएको भए पनि भारतीय नागरिकसहित दुई मजदुरलाई निकाल्न ढिलाइ हुँदा गम्भीर घाइते भएका थिए। गम्भीर घाइतेमध्ये भारतको बिहार सुगौलीका १८ वर्षीय विनय यादवको पनि शरीरको करिब ५० प्रतिशत भाग जलेको छ।
उनी हाल कीर्तिपुर बर्न अस्पतालमै उपचाररत छन्। विनयको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको प्रहरीको भनाइ छ। घटनापछि सुरुमा घाइतेहरूलाई वीरगन्जको नेशनल मेडिकल कलेजमा भर्ना गरिएको थियो। अवस्था जटिल भएपछि दुवैलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको पर्सा प्रहरीले जनाएको छ।
रुंग्टाले घटनामा जेनजी समूहले आफ्नो निवाससहित परिसरभित्रका अन्य चार घरमा समेत तोडफोड र लुटपाट गरेको आरोप लगाएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।