काठमाण्डौँ ।नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का एयरहोस्टेसहरु आन्दोलित भएका छन् । आफूहरुमाथि अन्याय तथा विभेद भएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
निगममा लामो समयदेखि कार्यरत ‘क्याबिन क्रु’हरुले सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगरेको र न्यायका लागि गुहार गर्दा पनि व्यवस्थापनले बेवास्ता गरेको भन्दै उनीहरुले निगम केन्द्रीय कार्यालयमा विरोध प्रर्दशन गरेका छन् ।
मुख्य प्रवेशद्वारमा एयरहोस्टेसले आज बिहान १० बजेदेखि साढे १२ बजेसम्म धर्ना दिदैँ विरोध जनाएका हुन् । झण्डै ५० जना एयरहोस्टेजले कार्यालय समयमा कार्यालय प्रमुखसहितका कर्मचारी प्रवेश गर्ने बेलामा हातमा कालोपट्टी बाँधी प्रदर्शन गरेका थिए ।
आफ्ना मागको सुनुवाइ नभएसम्म सङ्घर्षका कार्यक्रम जारी रहने वरिष्ठ विमान परिचारिका प्रजिता कार्कीले बताइन् ।
यता निगम व्यवस्थापनले भने एयरहोस्टेसको पाँच वर्षको करारको सम्झौता सकिएकाले निरन्तरता दिन नसकिने जनाएको छ ।
एयरहोस्टेसको पाँच वर्षको सम्झौताअनुसार काममा लगाइएको र त्यो अवधि सकिएको निगमका एक उच्च अधिकारीले बताए । उनका अनुसार पुनः सेवा निरन्तरता दिन सकिने अवस्था छैन ।
‘क्याबिन क्रु’हरुले सर्वोच्चको अन्तरिम आदेश पालना गर, विभेद रोक, दमन गर्न पाइँदैन लगायतका ‘प्ले’ कार्डसहित प्रर्दशन गरेका थिए ।