ट्रेन्डिङ

नेपालले जित्यो एसीसी यु–१६ पूर्वी क्षेत्र कपको उपाधि

वीरगन्ज । नेपाली यु–१६ क्रिकेट टोलीले एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्र कपको उपाधि सफलतापूर्वक रक्षा गरेको छ।

मलेसियाको वाइएसडी युकेएम ओभलमा शनिबार सम्पन्न फाइनल खेलमा नेपालले सिंगापुरलाई दुई विकेटले पराजित गर्दै अपराजित च्याम्पियन बनेको हो।

सिंगापुरले प्रस्तुत गरेको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा आठ विकेट गुमाउँदै ११७ रन बनाएर हासिल गर्‍यो। यो जितसँगै नेपालले आफ्नो समूह चरणदेखिको अपराजित यात्रालाई कायमै राख्न सफल भयो।

लक्ष्य पछ्याउने क्रममा नेपाली ब्याट्सम्यानहरूले धैर्यपूर्ण प्रदर्शन गरे। जोय थापाले अविजित २४ रन बनाउँदै नेपालको जितमा महत्वपूर्ण भूमिका खेले। यस्तै, शिवान्स बजगाईँले २० रन, शुभम खनालले १८ रन, प्रसिद्ध जैसीले १७ रन, परिमार्जन यादवले १३ रन र अभय यादवले अविजित १० रनको योगदान दिए।

सिंगापुरका लागि कपसि वेङ्कटेशरमनले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिए। युभान पाण्डेले दुई तथा वेदान्श गुप्ता र आकाश तेजाले समान एक विकेट लिए पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन्।

यसअघि टस जितेर ब्याटिङ रोजेको सिंगापुरले ४०.५ ओभरमा सबै विकेट गुमाउँदै ११३ रनको सामान्य योगफल तयार पारेको थियो। सिंगापुरका लागि रोहन अस्टिन अरुणले २३ रन, कप्तान रियान नाइकले १५ रन, वेदान्श गुप्ताले १२ रन र आकाश तेजाले १० रन बनाए।

नेपालका बलरहरूले सिंगापुरका ब्याट्सम्यानलाई खुलेर खेल्न दिएनन्। अभय यादव र सुशील बहादुर रावलले समान तीन–तीन विकेट लिँदै सिंगापुरको ब्याटिङ लाइनअपलाई ध्वस्त पारे। शुभम खनालले दुई र कप्तान विपिनप्रसाद शर्माले एक विकेट लिएर सिंगापुरलाई सानो स्कोरमा रोक्न सफल भए।

यो उपाधिसँगै नेपालले प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई निरन्तरता दियो। समूह चरणमा नेपालले सिंगापुर, जापान, इन्डोनेसिया र भुटानलाई पराजित गरेको थियो। सेमिफाइनलमा भने घरेलु टोली मलेसियालाई हराउँदै नेपालले फाइनलमा स्थान सुरक्षित गरेको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै