वीरगन्ज । पर्साको बहुदरमाई नगरपालिकाको आगामी बजेट तथा नीति कार्यक्रमलाई लिएर पूर्व नगरप्रमुख प्रत्याशी शिव प्रसाद पटेलले ध्यानाकर्षण गराएका छन्।
उनले नगरपालिकाको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, र सेवा प्रवाहमा सुधारका लागि महत्त्वपूर्ण सुझावहरू पेस गरेका हुन्। पटेलले नगरपालिकाको आफ्नै प्रशासनिक भवन र वडा नम्बर ५ तथा ६ मा वडा कार्यालय भवन नहुनु विडम्बनापूर्ण रहेको भन्दै तत्काल बजेट विनियोजन गर्न माग गरेका छन्।
शैक्षिक गुणस्तरमा सुधारको खाँचो औंल्याउँदै, हालैको एसईई नतिजाले यस नगरपालिकाको कमजोर अवस्था देखाएकोमा चिन्ता व्यक्त गरे। उनले योग्य जनशक्तिको व्यवस्थापन र माध्यमिक विद्यालयहरूमा प्राविधिक शिक्षा लागू गर्न बजेट छुट्याउन आग्रह गरे।
स्वास्थ्य क्षेत्रमा, १५ शैयाको अस्पताल निर्माणका लागि विगतमा फ्रिज भएको बजेटलाई पुनः विनियोजन गर्नुपर्ने र सरकारी स्वास्थ्य संस्थाहरूमा आवश्यक जनशक्ति तथा निःशुल्क औषधिको व्यवस्था गर्न पनि उनले जोड दिए।
यसका साथै, पटेलले पालिकाबाट हुने वितरण प्रणालीलाई पारदर्शी बनाउन, युवाका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गर्न, सिप अभिवृद्धि कार्यक्रमलाई प्रभावकारी बनाउन र दलित समुदायको सशक्तीकरणका लागि बजेट माग गरेका छन्। किसानहरूलाई खेती, पशुपन्छी पालन र माछा पालनमा उत्प्रेरित गर्न तालिम, अनुदान र परामर्शका लागि पनि बजेट विनियोजन गर्न ध्यानाकर्षण गराइएको छ।