वीरगन्ज । लामो समयदेखि केही स्वार्थी समूहको कब्जामा रहेको वीरगन्ज महानगरपालिका वडा नम्बर ५ स्थित नारायणी स्पोर्ट्स क्लब अन्ततः वडावासीको प्रत्यक्ष रेखदेखमा सञ्चालन हुने भएको छ।
यो कदमलाई सार्वजनिक सम्पत्तिको संरक्षण र स्थानीय सहभागिताको महत्त्वपूर्ण जितका रूपमा हेरिएको छ। महानगरपालिकाको सार्वजनिक सम्पत्ति अतिक्रमण नियन्त्रण समितिका संयोजक एवं वडा नम्बर ५ का वडा अध्यक्ष प्रदीप चौरसियाको नेतृत्वमा क्लबलाई कब्जा मुक्त गरिएको हो। यसअघि पटक–पटक सूचना जारी गर्दा पनि सम्बन्धित पक्षले बेवास्ता गर्दै आएका थिए, जसले गर्दा क्लबमा लगाइएको ताल्चाको साँचो समेत उपलब्ध गराइएको थिएन।
स्थानीय भद्रभलाद्मी, जनप्रतिनिधि र नगर प्रहरीको रोहबरमा क्लबलाई कब्जा मुक्त गरी वडावासीको जिम्मा लगाइएको छ। सूचनाहरूको निरन्तर बेवास्तापछि वडा समितिले एक भेला आयोजना गरी क्लबमा लगाइएको ताल्चा खोलेर औपचारिक रूपमा क्लबको जिम्मेवारी आफ्नो मातहतमा लिएको स्थानीय बासिन्दाले जानकारी दिएका छन्।
वडा अध्यक्ष प्रदीप चौरसियाले अब क्लबको सञ्चालन वडावासी र वडा समितिको प्रत्यक्ष निगरानीमा थप पारदर्शी ढङ्गले गरिने बताएका छन्। उनले वडावासीको भावना, खेलकुदको सुरक्षा र खेलाडीहरूको भविष्यलाई मध्यनजर गर्दै यो महत्त्वपूर्ण निर्णय लिइएको स्पष्ट पारेका छन्।