वीरगन्ज । इन्डियन प्रिमियर लिग (आइपीएल) २०२५ को उपाधि जितेको रोयल च्यालेन्जर्स बेङ्गालुरु (आरसीबी)को ऐतिहासिक जितको खुसियाली मनाउने क्रममा बेंगलुरुमा ठूलो दुर्घटना भएको छ।
एम. चिन्नास्वामी स्टेडियम बाहिर भएको विजय उत्सवको भागदौडमा कम्तीमा ७ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन्। घाइतेहरूको नजिकैका अस्पतालमा उपचार भइरहेको छ। यो घटनाले खुसीको उत्सवलाई शोकमा परिणत गरेको छ ।
आरसीबीले १८ वर्षपछि पहिलो पटक आइपीएल उपाधि जितेपछि बेंगलुरुभरि उत्सवको माहोल थियो। टोलीलाई स्वागत गर्न र विजय परेडमा सहभागी हुन हजारौं प्रशंसकहरू चिन्नास्वामी स्टेडियमबाहिर जम्मा भएका थिए। अत्यधिक भीडका कारण मानिसहरू एकअर्कालाई धकेल्दा भागदौड मच्चिएको कर्नाटक प्रहरीले जनाएको छ। स्थिति नियन्त्रण बाहिर गएपछि प्रहरीले लाठीचार्ज समेत गर्नुपरेको थियो।
यस दुःखद घटनापछि आरसीबीले आयोजना गर्ने भनिएको खुल्ला बस विजय परेड रद्द गरिएको छ भने सम्मान समारोह पनि १० मिनेट मै सकाइएको छ।
यस्ता ठूला उत्सवमा सुरक्षा व्यवस्थाबारे गम्भीर प्रश्न खडा गरेको छ।