ट्रेन्डिङ

कांग्रेस सभापति देउवा बीरगन्जमा, सुरक्षाका लागि ४ सय प्रहरी परिचालन

बीरगन्ज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बीरगन्ज आइपुगेका छन् । काठमाडौंबाट मंगलबार कांग्रेस सभापति देउवा विहानको जहाजले बीरगन्ज आइपुगेका हुन ।
बीरगन्जमा एक रात बास बस्ने सभापति देउवाको औपचारिक दुइ र अनौपचारिक भेटघाट कार्यक्रम तय छ । औपचारिक कार्यक्रमबाहेक कांग्रेस सभापति देउवासंग अनौपचापरिक भेटघाट गराउने कार्यतालिका बनाइएको छ, जसको जिम्मेवारी कांग्रेस प्रदेश समितिले पाएको छ ।

सोमबार कांग्रेस प्रदेश समितिको बसेको बैठकले जिल्लाका सभापतिहरुसहित अन्य कार्यकर्ताको भेटघाट गराउने जिम्मेवारी प्रदेश सभापति कृष्णा यादवलाई दिइएको छ । बीरगन्ज आइपुगेका सभापति देउवाको मंगलबार पहिलो दिन आधारभूत अस्पतालको उद्घाटन गर्ने कार्यतालिका रहेको पर्सा कांग्रेसले जानकारी दिएको छ ।
पर्साका कांग्रेसका सभापति जनार्दन सिंह क्षेत्रीका अनुसार पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ स्थित आधारभूत अस्पतालको समुद्घाटन गर्ने कार्यक्रम तय भएको छ । ‘त्यसका लागि सभापतिज्यू बीरगन्जमा आइसक्नु भएको छ, अब केही बेरमा कार्यक्रम स्थलतर्फ प्रस्थान गर्नुहुनेछ,’ उनले भने ।

यसैगरी दोस्रो दिन सभापति देउवाको भने आत्माराम ओझा र दुःखा सहनीको स्मृति भवनको उद्घाटन गर्ने कार्यतालिका रहेको कांग्रेस पर्सा सभापति क्षेत्रीले जानकारी दिए । यी औपचारिक कार्यक्रम सकेपश्चात सभापति देउवाको कार्यकर्तासंग भेटघाट गर्ने तालिका बनाइएको छ । प्रदेशका ८ वटै जिल्ला सभापति तथा उच्च तहका नेता÷कार्यकर्ताहरुसंग सभापति देउवाको भेटघाट गर्ने कार्यक्रम रहेको प्रदेश कांग्रेस समितिले जनाएको छ ।

व्यापक प्रहरी परिचालन
कांग्रेस सभापति देउवा बीरगन्जमा आगमन भएसंगै व्यापक संख्यामा प्रहरी परिचालन गरिएको छ । भिभिआइपी सुरक्षाका लागि उच्च सतर्कता अपनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार पूर्वप्रधानमन्त्रीको सुरक्षाका लागि बीरगन्ज आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । बीरगन्जसंगै कार्यक्रम स्थलसम्म भिभिआइपी सुरक्षाका लागि व्यापक संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार पूर्व प्रधानमन्त्री देउवाको सुरक्षाका लागि करिब ४ सयको हाराहारीमा सुरक्षाकर्मी परिचालन गरिएको छ । पर्सा प्रहरी प्रवक्ता दीपक भारतीका अनुसार नेपाल प्रहरीबाट मात्रै करिब २ सय प्रहरी परिचालन गरिएको छ । भने सशस्त्र प्रहरीबाट करिब २ सयको हाराहारीमा प्रहरी खटाइएको सशस्त्र प्रहरी बल पर्साका प्रवक्ता देबेन्द्र सिंहले बताए ।
पूर्वप्रधानमन्त्री देउवाको सुरक्षाका लागि सादा पोशाक, पैदल गस्ती, सूचना संकलन टोली तथा मोबाइल गस्तीसहितको प्रहरी परिचालन गरिएको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै