काठमाण्डौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर छ । जसकारण देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
यसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थान हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ ।
आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ । साथै सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा घनघोर वर्षाको सम्भावना रहको छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
मौसमविद्का अनुसार आजदेखि मनसुनसँगै बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको पनि प्रभाव परेकाले देशभर मौसम बदली र वर्षा बढ्ने भएको हो । मौसम महाशाखाले सोमबार साँझ विशेष बुलेटिन जारी गरी मंगलबारदेखि ५ दिनसम्म देशव्यापी रूपमा मौसम बदली र व्यापक वर्षाको सम्भावना रहेको जानकारी दिएको थियो ।
खेतमा बाली नछोड्न आग्रह
मनसुन पूनः सक्रिय भएकाले काटिसकेको धान बाली खेतमा नछोड्न आग्रह गरिएको छ । राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत तथा कृषि मौसमका जानकार रामेश्वर रिमालले काटिसकेको धान बाली खेतमा नछोड्न आग्रह गरेका हुन् ।
अगौटे धान बाली भित्र्याउने समय भएकाले मेसिनको प्रयोग गरी छिटो भित्र्याइ हाल्न उनले सुझाव दिएका छन् । काटेको धान खेतमा नछोड्ने, केही काँचोमै काटी सकेको धान चिउरा बनाउन सकिने रिमालको भनाइ छ ।
यस्तै, तरकारीको बीउ छर्दा माटोको ड्याम बनाएर, प्लास्टिकले टनेल बनाएर छर्न आग्रह गरिएको छ ।