७ असोज, जनकपुर । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट ९ जना थुनुवा फरार भएका छन् । प्रहरी हिरासतबाट सोमबार विहान भेन्डिलेसन तोडेर ९ जना थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको हो ।
फरार हुने थुनुवाहरुमा जनकपुर उपमहानगरपालिका वडा नम्बर २० निवासी अमितकुमार झा, धनुषा साबिक गिद्धा नगरपालिका वडा नम्बर ७ का रंजित मण्डल र रोशनकुमार मण्डल तथा सिरहा नगरपालिका वडा नम्बर १३ निवासी अभास्कर यादव रहेको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी धनुषाकै औरही गाउँपालिका वडा नम्बर २ निवासी विशाल मुखिया, जनकपुर उपमहानगरपालिका वडा नम्बर १ निवासी सुमित मेस्तर, धनुषा नगराइन नगरपालका वडा नम्बर २ निवासी मनिष मण्डल र जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ निवासी बिक्की कार्की प्रहरी थुनुवा कक्षबाट फरार भएको धनुषा प्रहरी प्रवक्ता रञ्जन अवाले बताए ।
फरार भएकाहरुमध्ये ५ जना लागु औषध मुद्दाका थुनुवा रहेका छन भने ३ जना अभद्र व्यवहार मुद्दाका आरोपित रहेको धनुषा प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार फरारहरुमध्ये झा, मण्डलद्वय, यादव र विशाल लागु औषधका थुनुवा थिए भने मेस्तर, मनिष मण्डल र कार्की अभद्र व्यवहार मुद्दाको रहेको प्रहरीले जानकारी दिएको छ ।
फारार भएकाहरुमध्येबाट एक जनालाई प्रहरी पक्राउ गरेको छ । प्रहरीले अहिलेसम्म सत्यम झालाई पक्राउ गरेको जानकारी दिएको छ । अन्य फरारहरुको खोजीकार्य भने जारी रहेको प्रहरी प्रवक्ता अवाले बताए ।
धनुषा प्रहरी हिरासत कक्षको सोमबार विहानसम्म सुरक्षा दिनका लागि ५ जना प्रहरीहरु ड्यूटीमा परिचालित थिए ।