६ असोज, बारा । मधेस प्रदेश सरकारका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले समयमै खेलकुद ऐन नबन्दा मधेशले क्षती बेहोर्नूपरेको बताएका छन् । बाराको सिमरामा आयोजित जितपुरसिमरा अन्र्तराष्ट्रिय भेट्रान प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पछिल्लो सात वर्षको अवधिमा मधेसले खेलकुद क्षेत्रमा निकै ठूलो क्षति बेहोर्नूपरेको बताउँदै उनले अब उक्त क्षतिको भरपाई गरेर अघि बढ्नुपर्नेमा जोड दिए । मन्त्री जयसवालका अनुसार ऐन ल्याएसँगै प्रदेशमा अब खेलकुदका गतिविधिलाई तिव्र रुपले अघि बढाइने जानकारी दिए ।
उनले भने, ‘सात वर्षमा मधेशले ठूलो क्षति खेप्यो, त्यसको भरपाई हुनेगरी खेलकुद क्षेत्रको विकास गर्नुपर्नेछ । पहिलो चरणमा ऐन ल्याउने काम भइसकेको छ । यो मधेश प्रदेशकै लागि खुुसीको कुरा हो । अब राजपत्र प्रकाशित भएपछि प्रदेश खेलकुद परिषद् गठन गरेर काम अघि बढाउनेछौं।’
उनका अनुसार खेलकुद मैदानको संरचना निर्माण र खेलकुदका गतिविधिलाई प्राथमिकता दिएर अघि बढाउन जरुरी छ । ११ औं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेस प्रदेशमा आयोजना हुने भएकाले सोको तयारीका लागि सरकारले काम गरिरहेको मन्त्री जयसवालको भनाइ थियो ।