वीरगन्ज । पर्सा प्रहरीले सवारी ज्यान मुद्दाका दुई जना फरार प्रतिवादीलाइ १६ वर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१७ बस्ने ६५ वर्षका छठु साह तेली र वीरगन्ज-२५ बस्ने ४५ वर्षका चन्दु राउत कुर्मी छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले उनीहरुलाइ लुकिछिपी बस्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।
०६४ बैशाख १४ गते छठुले चलाएको ना १ ह ९०७ नम्वरको टेम्पोले ठक्कर दिँदा राजेन्द्र साह सोनारको मृत्यु भएको थियो ।
यसैगरी ०६४ साल कात्तिक ३ गते चन्दुले चलाएको ना ३ प ९७१८ नम्बरको मोटरसाइकलको ठक्कर दिँदा होरिल राउत कुर्मीको मृत्यु भएको थियो ।
सोही घटनामा पर्सा जिल्ला अदालतले दुइ जनाविरुद्घ फैसला सुनाएपश्चात फरार भएका प्रतिवादीहरुलाई पक्राउ गरिएको पर्सा प्रहरीका डिएसपी किशोर लम्सालले बताए ।
पक्राउ परेकाहरुमाथि जिल्ला अदालत पर्साबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।