
धनुषा । भारतको विहारस्थित मुजफ्फरपुरमा भएको सवारी दुर्घटनामा ५ जना नेपालीको मृत्यु भएको छ ।
धनुषासँगको सीमा नजिकै पर्ने ठाँउमा बिआर ३२ पीए ४६६१ नम्बरको गाडी आज दुर्घटनामा परेको हो । प्रहरी स्रोतका अनुसार दुर्घटनामा परी मृत्यु भएका तथा घाइतेहरु धनुषा र महोत्तरी जिल्लाका छन् ।
मृत्यु हुनेहरुमा अर्चना ठाकुर, कनतारनी देवी, बालकृष्ण झा, इन्दु देवी र गाडी चालकसमेत रहेका प्रहरीले जनाएको छ ।
महाकुम्भ मेलाको दर्शन गरी फर्कने क्रममा गाडी दुर्घटनामा परेको प्रहरीको भनाई छ । तिव्र गतिका कारण अनियन्त्रित हुँदा गाडी दुर्घटनामा परेको बताइन्छ ।
दुर्घटनामा थप ४ जना गम्भीर घाइते छन् । गम्भीर घाइते हुनेहरुमा मनोहर ठाकुर, कामिनी झा , सृष्टि ठाकुर र जगतारण देवी रहेका प्रहरी बताँउछ । उनीहरु सबैको स्थानीय श्रीकृष्ण मेडिकल कलेजमा उपचार भइरहेको छ ।
घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनायो ।