उत्तर प्रदेश । भारतमा जारी कुम्भ मेलामा भएको भागदौडमा ज्यान गुमाउनेको संख्या ३० पुगेको छ । भने दुर्घटनामा दर्जनौँ घाइते भएका छन् ।
प्रशासनले बुधबार बेलुकासम्म मृत्यु हुनेको संख्याबारे कुनै जानकारी दिएको थिएन । महाकुम्भ नगर मेला क्षेत्रका डीआईजी वैभव कृष्णले साँझ सञ्चारकर्मीलाई सम्बोधन गर्दै भने, ‘महाकुम्भमा भएको भागदौडमा ३० जनाको मृत्यु भएको छ, जसमध्ये २५ जनाको सनाखत भइसकेको छ। ६० घाइतेको अस्पतालमा उपचार भइरहेको छ।’
‘अखडा क्षेत्रमा ब्यारिकेडहरू जडान गरिएका थिए, तीमध्ये कतिपय ब्यारिकेडहरू भत्केका छन्। ब्रह्म मुहूर्तको पर्खाइमा घाटमा धेरै भक्तजनहरू सुतेर बसेका थिए । जब त्यहाँ अन्य श्रद्धालु पुगे, उनीहरूले तल को सुतिरहेका छन् भनेर देख्न सकेनन्। यसरी यो दुर्घटना भयो,’ उनले भने ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक्समा लेखेका छन्, ‘प्रयागराज महाकुम्भमा भएको दुर्घटना अत्यन्तै दुखद छ । यसबाट आफ्ना परिवारका सदस्यहरू गुमाउनुहुने भक्तजनहरूप्रति मेरो गहिरो समवेदना। साथै घाइते सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । स्थानीय प्रशासन पीडितलाई सक्दो सहयोग गर्न लागिरहेको छ । मैले यस सम्बन्धमा मुख्यमन्त्री योगीजीसँग कुरा गरेको छु र म राज्य सरकारसँग निरन्तर सम्पर्कमा छु।’