ट्रेन्डिङ

महाकुम्भ मेलामा भागदौड : १० जनाको मृत्यु, कैयौँ घाइते

काठमाण्डौँ । भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेलामा भागदौड मच्चिँदा कयौं व्यक्ति हताहत भएको आशंका गरिएको छ ।

गएराति भएको भागदौडमा कम्तिमा १० जनाको मृत्यु भएको भारतीय मिडियाहरुले जनाएका छन् । प्रयागराज सिटीका एक डाक्टरले भने समाचार एजेन्सी एएफपीलाई नाम उल्लेख नगर्ने सर्तमा १५ जनाको मृत्यु भएको बताएका छन् ।

भारतीय मिडिया दैनिक भाष्करले १४ जनाको मृत्यु र ५० जनाभन्दा बढी घाइते भएको समाचार लेखेको छ । उसले आफ्नो सम्वाददातालाई उद्धृत गर्दै स्वरुपरानी अस्पतालमा पोष्टमार्टमका लागि १४ शव ल्याइसकिएको उल्लेख गरेको छ ।

मृतकको संख्या फरक फरक आइरहे पनि सरकारी निकायबाट भने औपचारिक जानकारी दिइएको छैन । यो घटनापछि अमृत स्नान केही समय स्थगित गरिएको छ ।

१३ जनवरीदेखि सुरु भएको महाकुम्भ मेलामा हालसम्म १५ करोड व्यक्तिले गंगामा स्नान गरेको अनुमान छ । आज बुधबारको दिन मौनी अमावस्या अर्थात माघ कृष्ण औंसीका अवसरमा १० करोड भन्दा धेरै श्रद्धालु गंगा कुम्भ मेलामा सहभागी हुने अनुमान गरिएको थियो ।

तर मंगलबार राति नै प्रयागराजको संगमस्थानमा एकाएक भागदौड मच्चिएको थियो । धेरै व्यक्तिहरुको भिडमा कुल्चिएर ज्यान गएको छ । मानिसहरुको भागाभाग भएपछि स्थानीय प्रशासनले ब्यारिकेडहरु हटाएर सडक खुला गरेको छ ।

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई सम्पर्क गरी घटनाबारे जानकारी लिएका छन् ।

लगत्तै मुख्यमन्त्री योगी आदित्यनाथले संगम स्थानतर्फ जाने प्रयास नगरी गंगा किनारमा जो जहाँनेर छ, त्यहीँनेर स्नान गर्न आह्वान गरेका छन् । उनले प्रशासनको निर्देशन पालना गर्न र अफवाहमा ध्यान नदिन पनि अनुरोध गरेका छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै