ट्रेन्डिङ

पर्सा र बारामा १७ महिनामा ३० वटा जंगली जनावरको मृत्यु, विज्ञ भन्छन्– संरक्षणमा ध्यान दिइएन भने ठूलै हानी बेहोर्नुपर्छ

वीरगन्ज । बितेको १७ महिनामा मधेसका पर्सा र बारामा करिब तीन दर्जन जंगली जनावरको मृत्यु भएको छ । विभिन्न पाँच कारणले झण्डै डेढ वर्षमा ३० वटा जंगली जनावरको मृत्यु भएको जनाइएको छ ।

गत आर्थिक वर्ष ०८०/०८१ देखि चालु आर्थिक वर्षको मंसिरसम्म ती सङख्याका जंगली जनावरको मृत्यु भएको हो । पर्सा राष्ट्रिय निकुञ्जले उपलब्ध गराएको विवरणअनुसार जनावरहरुको सबैभन्दा बढी सडक दुर्घटनाका कारण मृत्युभएको देखिन्छ । अर्थात् सडक दुर्घटनाका कारण यही अवधिमा १३ वटा जंगली जनावर मारिएका छन् ।

यसैगरी ५ वटा प्राकृतिक कारण, ३ रोग लागेर, एउटा बाघको आक्रमण र एक कुकुरको टोकाईबाट मृत्यु भएको निकुञ्जले जनाएको छ । त्यसैगरी एकापसमा जुधेर, मानव– बाघ द्धन्द्ध र सिकारका कारण गरी ४ जंगली जनवारको मृत्युभएको आँकडा छ ।

दुुइवटा जनावरको भने मृत्युको कारणबारे रिपोर्ट आउन बाँकी रहेको पर्सा राष्ट्रिय निकुञ्जका वन्यजन्तु संरक्षण अधिकृत सन्तोष भगतले बताए ।

उनका अनुसार यहि मंसिर १६ गते भाटा एरियामा लिंग र पहिचान नखुलेको/नछुट्याएको एउटा पाटेबाघको प्राकृतिक कारण तथा गत वर्ष कात्तिक १८ गते आधाभार क्षेत्रमा एउटा अजिगंरको सडक दुर्घटनाबाट मृत्यु भएको हो । यस्तै मारिनेमा अन्य १९ वटा पोथी, ९ वटा भाले प्रजातीका जंगली जनावरहरु छन् ।

विभिन्न कारणले मृत्यु भएका जनावरहरुमा सबैभन्दा बढी जन्मेदेखि ५ वर्ष कम उमेरका तथा पाँच वर्षदेखि ११ वर्षसम्मका छन् । अर्थात् यसरी मृत्यु हुनेमा ११ वटा पाँच वर्षभन्दा कम उमेरका तथा पाँच वर्षभन्दा माथि तर दश वर्षसम्मका ११ वटा गरी जम्मा २६ वटा छन् ।

यसैगरी एउटा २० वर्ष कमका तथा ६९ वर्षको एउटा हात्तीको मृत्यु भएको संरक्षण अधिकृत भगत बताउँछन् ।

सबैभन्दा बढी चित्तल

यो अवधिमा मृत्यु भएका वन्यजन्तुमा सबैभन्दा बढी चित्तल रहेको तथ्यांकले देखाइरहेको छ । फरकफरक कारणले एक तिहाइ अर्थात् ११ वटा चित्तलको मात्रै मृत्यु भएको तथ्यांक छ ।

चित्तलको मृत्युको कारण भने बाघको आक्रमण, सडक दुर्घटना, कुकुरले टोक्दा तथा आपसमा जुध्दाँ घाइते भएर छन् । यस्तै त्यसपछिको सुचिमा बाघ छ, अर्थात् यो समयमा ७ वटा बाघहरु मारिएका छन् । बाघको मृत्युु भने रोग, मानव– बाघ द्धन्द्ध तथा बुढो भएको कारण रहेको पाइएको उनको भनाइ छ ।

यस्तै सोही समयमा जंगली बँदेल ६, बाँदर २, चितुवा एक, गौरीगाई १ तथा रतुवा एक गरी जम्मा ३० वटा जनावरको मृत्यु भएको निकुञ्जको रेकर्ड छ ।

जनावरको मृत्युले पर्ने प्रभाव :

निरन्तर रुपमा यसरी जनावरहरु मारिँदा प्रत्यक्ष असर पुग्ने वातावरण विद्हरुले बताएका छन् ।

वातावरणविद् आकाश चौहानले हरेक जनावरहरुको मृत्यु हुँदा समस्त वातावरणीय प्रणलीमा ह्रास आउने बताए । उनी भन्छन्, ‘हरेक जनावरले मानव जीवन तथा समग्र ‘इको सिस्टम’लाई सन्तुलनमा राखेको छ, तिनीहरुको अस्तित्वबिना पृथ्वीको समग्र प्रणालीमा ‘नेगेटिभ इम्प्याक्ट’ पुग्छ । त्यसकारण जंगली जनावरको वातावरण तथा मानव जीवनका लागि ठूलो महत्व छ ।’

उनका अनुसार छुट्टाछुट्टै जनावरले प्रकृतिलाई सन्तुलनमा राख्नका लागि फरकफरक हिसाबले योगदान दिइरहेका हुन्छन् । ‘त्यहीकारण एउटा जनावर मर्नु भनेको वातावरणको समग्र प्रणालीमा हानी पुर्‍याउनु हो,’ उनले भने ।

खासगरी यसले पृथ्वीको कृषि, जल, वायु, वन, वर्षा, खाद्य, रसायन, वातावरणीय हराभरामा ह्रास, विविधतामा हानी पुर्‍याउने गरेको उनी बताउँछन् । जंगली जनावरको संरक्षण गरिएन भने कालान्तरमा गएर मानव जातीलाई नै ठूलो असर पार्ने वातावरणविद् चौहानको तर्क छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै