काठमाडौं । चीनको तिब्बत क्षेत्रमा पर्ने सिजाङ प्रान्तको सिगात्सेमा मंगलबार गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १२६ पुगेको छ । ७ म्याग्निच्युडको भूकम्पले भौतिक संरचनाहरु भत्किएका छन् । भग्नावशेषमा कोही पुरिएको हुनुसक्ने अनुमानमा भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार जारी छ ।
नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा गएको भूकम्पले नेपाल, भारत र बंगलादेशमा पनि धक्का महसुस भएको थियो ।
तिब्बतमा नेपालीहरु पनि छन् । तर नेपालीहरु हताहतीको सूचना नरहेको अधिकारीहरुले बताएका छन् ।
ल्हासास्थित महावाणिज्य दूतावासका अनुसार तिब्बतमा करिब पाँच हजार जना नेपालीहरु छन् । भूकम्पको केन्द्रविन्दु दिङ्गी गाउँ र त्यस आसपासका क्षेत्रमा पनि करिब एक सय जना नेपाली व्यवसायीहरु छन् । तर उनीहरु सबै सुरक्षित रहेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।
नेपाली महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाले बीबीसी नेपालीसँग भनेका छन्– भूकम्प जानेबित्तिकै हाम्रा नेपाली समुदाय र यहाँका निकायहरूसँग सम्पर्क गर्यौं । उहाँहरू सुरक्षित हुनुहुन्छ । केही भएको छैन ।
नेपाली महावाणिज्य दूतावास रहेको ल्हासामा पनि केही असर नपरेको उनले बताएका छन् ।
भूकम्पका कारण सिगात्सेमा मात्रै एक हजार बढी घरहरु भत्किएका छन् । भूकम्प प्रभावित क्षेत्रमा बिजुली र पानी आपूर्ति प्रभावित भएको थियो ।
राष्ट्रपति सी जिनपिङले खोज, उद्धार र राहत वितरणका लागि पूर्णरुपमा परिचालित हुन र प्रभावकारी सेवा प्रवाह गर्न निर्देशन दिएका छन् । सीले भनेका छन्, ‘भूकम्पको निगरानी र पूर्वसूचना प्रणालीलाई बलियो बनाउन, आपत्कालीन उद्धार सामग्री तत्काल पठाउन, क्षतिग्रस्त पूर्वाधारको मर्मत कार्य छिटो सम्पन्न गर्न, प्रभावितहरूको आधारभूत आवश्यकता पूरा गर्न र सबैलाई सुरक्षित बास र न्याना कपडा सुनिश्चित गर्न आवश्यक छ ।