ट्रेन्डिङ

बीपी उद्यानको जग्गा एक महिनाभित्र खाली गराउने महानगरको तयारी, चिसोमा घर भत्किदाँ बिचल्ली

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आज पनि बीपी उद्यानको बजारमा डोजर चलाउने भएको छ ।

दुइपटक सम्म त्यहाँको बजार खाली गराउन सूचना जारी गरिएको थियो, तर सूचनाको अवज्ञा गरेपछि महानगरले आइतबार (हिजो) देखि डोजर चलाउन सुरु गरेको हो ।

महानगरले सार्वजनिक सूचनामार्फत उद्यानमा रहेका अस्थायी घर–टहरा, तरकारी तथा फलफूलको बजार हटाउनको लागि एक पटक पन्ध्र दिने तथा अर्को पटक ७ दिनको तोकेता गरेको थियो ।

महानगपालिकाले डोजर लगाएर हिजोमात्र करिब ४० अस्थायी घरटहरा भत्काइसकेको छ । सोही अन्र्तगत आजपनि डोजर लगाएर अतिक्रमित संरचना खाली गराइने जनाइन्छ ।

एक महिनाभित्र त्यहाँ निर्माण गरिएका अस्थायी घर–टहरा तथा बजार हटाइने नगरप्रमुख राजेशमान सिंहका सचिवालय सल्लाहकार हरि पोखरेलले बताए । उनका अनुसार आजपनि महानगरपालिकाले विपी उद्यानको केहि संरचनामा डोजर चलाउने छ ।

उनी भन्छन्, ‘ आज पनि बीपी उद्यानमा अस्थायी घरटहराहरु हटाउने छौँ । आइतबारदेखि सुरु भएको यो अभियान निरन्तर चलाइनेछ र जग्गा खाली गराइनेछ ।’

‘उपयुक्त विकल्प दिएर बीपी उद्यान खाली गर्न लागेका छौँ । यहाँ तरकारी तथा फलफूल व्यापार गर्दै आइरहेका व्यापारीलाई वडा नं १६ नगरवास्थित कृषि बजारमा व्यापार लगाउन सुविधायुक्त व्यवस्थापन गरिएको छ’, उनले भने ।

उनका अनुसार यहाँ व्यवसाय चलाएका ९० प्रतिशतभन्दा धेरै व्यापारी वीरगञ्जकै छन् । अन्य भने भारतीय नागरिक रहेका उनको भनाइ छ । सचिवालय सल्लाहकार भुसालले अतिक्रमण गरेको ठाउँलाई खाली गरेर सार्वजनिक पार्क निर्माणको काम अघि बढाउने बताए ।

यता महानगरको यो कदमविरुद्ध त्यहाँका बासिन्दाले विरोध गरेका छन् । उनीहरुले महानगरले घर भत्काएर जाडोयाममा घरबारविहिन बनाएको आरोप लगाएका छन् । बीपी उद्यानको सार्वजनीक जग्गामा १० वर्षदेखि घर बनाएर बस्दै आएकी बछुरी डोमिनले घर भत्काएर आफूहरुलाई बिचल्ली बनाइएको आरोप लगाइन् ।

उनी सुनाउँछिन्, ‘महानगरले घर नै भत्काइदियो, कहाँ बस्ने कता जाने ? यस्तो चिसो छ, एकाएका घरनै भत्काउनु पर्ने जरुरी थिएन मेयर साहबलाई । हाम्रो बिजोग बनाएर के पाइन्छ ? केहि समय पर्खेर भतकाएको भए हामी केहि व्यवस्था थियौँ । ये चिसोमा दिनभर त जसोतसो कट्छ रातमा के गर्ने ?’

यसैगरी महानगरकै सरसफई कर्मचारीसमेत रहेकी त्यहाँ निवासी प्रभावती देवीले जागीर स्थायी भएपनि कुनै सेवा सुविधा नपाएको गुनासो सुनाइन् । उनले भनिन्, ‘ वीरगन्ज महानगरको कर्मचारी भनेर के गर्नु ? हामीले कुनै सुविधा पाएका छैनौँ । आफ्नो घर टहरा भत्काउन भ्याउने महानगरपालिकाले हामीलाई बस्ने व्यवस्था पनि मिलाउनुपर्ने हो कि हैन ? खै सुविधा ? अब बच्चा बोकेर कता जानु ? के गर्ने ?

बीपी उद्यानको जग्गामा तरकारी, फलफूल तथा कपडा पसल, तथा विभिन्न खानाका स्टल गरी करिब दुई सय ५० भन्दा बढी व्यवसाय सञ्चालित छन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै