वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार समीकरणको रहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी एमाले पर्साले आइतबार राखेको बृहत पार्टी प्रवेश तथा जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन । उनले आफ्नो सरकार सत्ता गठबन्धनको सरकार नभइ समीकरणको सरकार रहेको जिकीर गरे ।
उनले भने, ‘तपाइँहरुलाई सत्ता गठबन्धन भन्ने बानी भइसकेको छ, तर यो अहिलेको सरकार नेपाली कांग्रेस, एमालेको संयुक्त सरकार हो । समीकरणको सरकार हो । त्यसकारण यसलाई सत्ता गठबन्धन भन्न मिल्दैन ।’
देशमा ‘म्याजिक नम्बर’ भएकाहरुले ठूला पार्टीहरुलाई खेलाउने भएपछि स्थिरताका लागि ठूला दलहरु एक भएको प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भने, ‘साना दलहरु अथवा म्याजिक नम्बर भएकाहरुका कारण मुलुकमा अराजकता बढ्यो, अस्थिरता बढ्यो । त्यसपछि हामी दुइ ठूला दलहरुले सल्लाह गरेर अस्थिरता हटाउनका लागि, मुलुकको निकास दिनका लागि सरकार चलाउन समीकरण गरेका हौं । अरु केही होइन ।’
मधेसका मसिया भन्ने पार्टीका नेताहरुले बिकास निर्माण नभई जनतालाई अलमल्याउने काम गरेकाले यो सरकार गठन भएको बताए । वर्तमान सरकार देशमा समृद्धि तथा सुशासन स्थापनाका लागि गठन भएकाले ढुक्क भएर बस्न उनले आग्रह गरे ।
हुलाकी राजमार्गमा १३ आधुनिक सहर निर्माण, सुनकोसी मरिन डाइभर्सन, उद्यमशीलता, कृषि उत्पादन र आय बढाउने कामलाई प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्री ओलीले आगामी दिनमा ती कामहरुले गति लिने जिकिर गरे ।
पर्साको पोखरिया नगरपालिकास्थित नगर अस्पताललाई स्तरोन्नती गरिएको र नापी तथा मालपोत कार्यालयको सेवा केन्द्र स्थापना गरिएको बताए । यस्तै त्यहाँ चाँडै नै इलाका प्रशासन कार्यालय स्थापना गर्ने जानकारी दिए ।
एमाले नेतृत्वको सरकारले मुलुकमा विकास लहर ल्याउने भएकाले तपाइँहरु पार्टीलाई बलियो बनाउनतर्फ ध्यान दिन जरुरी रहेको उनको आग्रह छ ।