वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओली आज पर्सा जिल्ला आउँदैछन् ।
एमाले पार्टी कार्यालय पर्साले राखेको कार्यक्रममा सरिक हुन प्रधानमन्त्री ओली जिल्लाको सखुवाप्रसौनी गाउँपालिकामा आउन लागेका हुन् ।
अबको केहिबेरमा निजी हेलिकप्टरमार्फत प्रधानमन्त्री ओली आउन लागेको जनाइएको छ । राजधानी काठमाडौंबाट हेलिकप्टरमार्फत सोझै कार्यक्रमस्थलमा आउने उनको कार्यतालिका तय भएको बताइन्छ । सखुवाप्रसौनी गाउँपालिकाको औराहा पचगाँवामा पार्टी प्रवेश तथा जनसभा कार्यक्रमलाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली यहाँ आउन लागेको एमाले पार्टी पर्साले जनाएको छ ।
प्रधानमन्त्री ओली यहाँ आउने भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रधानमन्त्रीको सुरक्षामा व्यापक प्रहरी परिचालन गरि सुरक्षा चुस्त पारिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरी नायब उपरीक्षक किशोर लम्सालले प्रधानमन्त्रीको आवागमनलाई मध्यनजर गर्दै जिल्लामा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए ।
उनको सुरक्षामा जिल्लाभर करिब ६०० को हाराहारीमा सुरक्षाकर्मी खटिएका छन् । मोबाइल गस्ती, सादा पोशाक, पैदल गस्ती लगायतका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीहरु कार्यक्रमस्थल, चोक, बजार क्षेत्र तथा आसपासमा परिचालित छन् । नेपाल प्रहरीका ३०० तथा सशस्त्र प्रहरीका ३०० जना टोली परिचालित गरिएको जनाइएको छ ।
कार्यक्रमलाई सभ्य भव्य बनाउन जिल्लाका विभिन्न राजनीतिक दलहरुसँग समेत समन्वय गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
प्रधानमन्त्री ओली सखुवा प्रसौनीमा करिब चार घण्टा रहने कार्यक्रम छ । आजको कार्यक्रममा सखुवाप्रसौनीका पूर्व गाउँपालिका अध्यक्ष प्रदिप जैसवालसहित झण्डै ५ हजार कार्यकर्ताले पार्टी प्रवेश गर्ने नेकपा एमाले पर्साको दाबी छ ।