वीरगन्ज । सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) र भारतीय सशस्त्र सीमा बल (एसएसबी) को नियमित बैठक सम्पन्न भएको छ । शुक्रबार महोत्तरीमा बैठक सम्पन्न भएको हो ।
सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीले बैठक आयोजना गरेको हो । एपीएफ र एसएसबीबिचको ‘डिआईजी लेभल काउन्टरपार्टस कोअर्डिनेशन मिटिङ’ सम्पन्न भएको जनाइएको छ ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी, भारतीय सशस्त्र सीमा बलका सेक्टर हेडक्वार्टर मुजफ्फरपुरका सशस्त्र प्रहरी नायब महानिरिक्षक दीपक कुमार, आईपीएस सेक्टर हेडक्वाटर पुर्नियाका सशस्त्र प्रहरी नायब महानिरिक्षक राजेश टिक्कु, सेक्टर हेडक्वाटर बेतियाका सशस्त्र प्रहरी नायब महानिरिक्षक एस. सुव्रमनियम लगायतको उपस्थिति थियो ।
यस्तै बैठकमा मधेश प्रदेशस्थित सशस्त्र प्रहरी बल¸ नेपालका गणपतिहरु, निमित्त गणपतिहरु लगायतका अधिकृतहरु, एसएसबीका बटालियन कमाण्डेन्टहरुसमेतको सहभागीता थियो ।
बैठकमा सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण तथा रोकथाम लागूऔषध नियन्त्रण, सीमामा हुने अपराधिक गतिविधि नियन्त्रण लगायतका विषयमा छलफल भएको बताइएको छ ।
बैठकले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउदै अघि बढ्न सहयोग मिल्ने विश्वास गरिएको छ ।