वीरगन्ज । प्रधानमन्त्री केपी शर्मा ओली यही आइतबार (भोली) पर्सा आउँदैछन् ।
एमाले पार्टी कार्यालय पर्साले राखेको पार्टी प्रवेश कार्यक्रममा सरिक हुन प्रधानमन्त्री ओली पर्साको सखुवाप्रसौनी गाउँपालिकामा आउन लागेका हुन् । आइतबार मध्यान्ह साढे १२ बजे हेलिकप्टरमार्फत प्रधानमन्त्री ओली आउन लागेको जनाइएको छ ।
राजधानी काठमाडौंबाट सिधै हेलिकप्टरमार्फत कार्यक्रमस्थलमा आउने उनको कार्यतालिका तय भएको बताइन्छ । सखुवाप्रसौनी गाउँपालिकाको औराहा पचगाँवामा पार्टी प्रवेश तथा जनसभा कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली आउन लागेको एमाले पार्टी पर्साले जनाएको छ ।
सखुवा प्रसौनी गाउँपालिकामा प्रधानमन्त्री ओलीको करिब चार घण्टा रहने कार्यक्रम तय छ, जुनक्रममा पाँच हजार स्थानीयलाई एमालेमा प्रवेश गराउने तयारी गरिएको दाबी छ । नेकपा एमाले पर्साका अध्यक्ष विश्म्भर शर्माले पर्साको सखुवाप्रसौनी गाउँपालिकामा ५ हजार कार्यकर्ता प्रवेशको कार्यक्रम रहेको बताए ।
यही कार्यक्रममा गाउँपालिकाका पूर्वमेयर प्रदीप जैसवाललाई पार्टी प्रवेश गराउने तयारी रहेको एमाले जिल्ला अध्यक्ष शर्माले बताए । तर एमालेका एक नेताका अनुसार अरुलाई प्रवेश गराउने भनिएपनि मुख्यतः पूर्व गाउँपालिका अध्यक्ष जैसवाललाई प्रवेश गराउन एमाले अध्यक्ष ओली पर्सा आइरहेका छन् ।
त्यही जैसवालसंगै उनका कार्यकर्ताहरु प्रवेश गराउनेबाहेक अरु कुनै कार्यक्रम नभएको उनी बताउँछन् ।
जैसवालको राजनीतिक यात्रा
२०७५ सालको स्थानीय तहको चुनावमा सखुवा प्रसौनी गाउँपालिकाकाको अध्यक्षमा प्रदीप जैसवाल निर्वाचित भएका थिए ।
राजनीतिमा अलिअलि चासो राख्ने पूर्व गाँपा अध्यक्ष जैसवाल व्यापारी हुन् । उनको हार्डवेयरसहितका अन्य क्षेत्रमा लगानी छ । तर खासगरी हाडवेर्यरको व्यवसायबाट उदाएका जैसवाल चुनावमा लड्न तम्सिए, चुनावमा जसपा नेपालको चुनाव चिन्हबाट खडा पनि भए । चुनाव जिते पनि ।
आफ्नो कार्यकाल खासै सफल नभएपछि अर्को चुनावमा उनी पराजित भए, एमालेबाट लडेका जसवन्त यादवसंगै । पराजित भएपछि उनी कुनै पार्टीमा रहेनन्, जुनकारणले उनको दाइ प्रमोद जैसवाल स्वतन्त्रबाट प्रदेश सांसदमा लडेका थिए ।
स्वतन्त्रबाट प्रदेश सांसदमा निर्वाचित भएपछि एमाले सरकारमा जाँदाको बखत प्रदेश सांसद जैसवाल एमालेमा प्रवेश गरेका थिए, अनि मन्त्री पनि बनेका थिए । जैसवाल परिवारको यो तेस्रोपटक पार्टी प्रवेश कार्यक्रम रहेको जानकार बताउँछन् । उनी नजिकका एक सहकर्मीका अनुसार प्रदीप एण्ड प्रमोद जैसवाल दाजुभाइ सुरुमा कांग्रेसमा आवद्ध थिए ।
कांग्रेसबाट राजनीतिक यात्रा सुरु गरेका जैसवाल दाजुभाइ जसपा नेपाल, जसपा, स्वतन्त्र हुँदै अहिले एमालेमा प्रवेश गर्न लागेका छन् । जता सरकार उतै जैसवाल परिवारको पार्टी प्रवेश कार्यक्रम हुने गरेको जानकार बताउँछन् । एक स्थानीयका अनुसार यो पार्टीमा पनि जैसवाल परिवार धेरै दिनसम्म टिकेर बस्न सक्दैनन् ।
उनी भन्छन्, ‘हरेक चुनावमा उहाँहरु पार्टी फेर्नु हुन्छ, योपटकको चुनावसम्म बस्नु हुन्छ कि नाइ त्यसको ग्यारेन्टी छैन । किनकि उहाँहरुलाई टिकेट दिइएन भने यो पार्टीमा पनि उहाँहरु बस्नु हुन्न । यो चाँहि ‘सियोर’ छ ।
तर प्रदेश मन्त्री जैसवालले भने आफूहरु कुनै पार्टी फेर्दै नहिड्ने गरेको बताए । उनले भने, ‘हामी कुनै राजनीतिक परिवारको पनि होइनौं, हामी सामाजिक मान्छे हौं । सबैको चाहना अनुसार राजनीतिमा होमिएका हौं । अरु त्यस्तो केही होइन ।’