महोत्तरी । जनकपुर बोल्टस् टोलीले महोत्तरीमा ट्रफी परेड गरेको छ । टोलीले आज जिल्लाको मटिहानी र जलेश्वरमा ट्रफी परेड गरेको हो ।
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि बिजेता जनकपुर बोल्टस्का खेलाडी तथा सम्पूर्ण टोलीलाई भव्य स्वागत गरिएको छ ।
महोत्तरीको पिपरा हुदै मटिहानी प्रवेश गरेका खेलाडीहरूलाई मटिहानीका मेयर हरिप्रसाद मण्डलले २५ किलोको मालासहित सम्मान र स्वागत गरे । यस्तै हरेक गाउँगाउँका स्थानीयले सडकमा फूलमालासहित खेलाडीहरुको स्वागत गरेका थिए ।
मटिहानीमा सम्मानपश्चात जलेश्वर पुगेका खेलाडीहरूलाई जलेश्वरका नगरप्रमुख सुरेश साह सोनारले भव्य स्वागत गर्दै नगरपरिक्रमा गराए । खेलाडीहरूलाई जलेश्वरनाथ महादेव मन्दिरमा पूजापाठसहित त्यहाँ सम्मानसमेत गरिएको थियो ।
जनकपुर बोल्टस्ले मधेसको प्रतिनिधित्व गर्ने भएकाले पर्सासहित मधेसका हरेक जिल्ला–जिल्लामा पुगेर ‘ट्रफी परेड’ गरि बिजयोत्सव मनाउने योजना छ । बिजयोत्सव हिजो प्रदेश राजधानी जनकपुरदेखि सुरु भएको थियो ।
यसैगरी महोत्तरीको कार्यक्रम सकेर सर्लाहीमा बिजयी उल्लास मनाइनेछ । । यस्तै आइतबार ( भोली) रौतहट र बारा तथा सोमबार पर्साको वीरगन्जमा बिजयी जुलुस निकालिने क्रिकेट एशोसियसन धनुषाले जनायो ।
वीरगन्जमा र्याली सकेर पूर्वका जिल्लाहरू सिरहा र सप्तरी पुग्ने कार्यतालिका छ । प्रदेशका आठवटै जिल्लामा ¥याली निकाल्न र त्यसको व्यवस्थापनका लागि मधेस प्रदेश क्रिकेट संघसँग समन्वय गरिएको बताइन्छ ।