हेटौंडा। नेपाल विद्युत् प्राधिकरणको हेटौंडास्थित जिन्सी व्यवस्थापन शाखाबाट सात करोड रुपैयाँ बराबरको सामान हराएको पाइएको छ । हेटौंडाको जिन्सी व्यवस्थापन शाखाको तत्कालीन प्रमुख बुद्धकुमार कार्कीले वर्तमान प्रमुख रमेश पराजुलीलाई सामान बुझाउने क्रममा अभिलेख अनुसारको सामान नभेटिएको पाइएको हो ।
सामान हराएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले यसमा संलग्न व्यक्तिलाई कारबाहीको सिफारिस समेत गरेको छ ।
विद्युत् प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौंडामा रहेको केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा दाखिला भएका विद्युतीय सामान कर्मचारीको लापरबाहीका कारण हराएपछि प्राधिकरणले केन्द्रीयस्तरमा छानबिन समिति बनाएको थियो ।
समितिले सात करोड रुपैयाँ बराबरका सामान हराएका प्रतिवेदन दिएको प्राधिकरणको खरिद व्यवस्थापन महाशाखा प्रमुख जीतेन्द्रकुमार झाले बताए । छानविन समितिले तत्कालीन शाखा प्रमुखलगायत कर्मचारीमाथि कारबाही प्रकृया अघि बढाएको महाशाखा प्रमुख झाले जानकारी दिएका छन् ।