सप्तरी । अर्नाको आक्रमणबाट सप्तरीमा दुइ जना गम्भिर घाइते भएका छन् । जिल्लाको कञ्चनरुप नगरपालिकामा अर्नाको आक्रमणबाट दुइ जना गम्भिर घाइते भएका हुन् ।
आज कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएको अर्नाको आक्रमणले गर्दा उनीहरु घाइते भएका प्रहरीले जनाएको छ । गम्भिर घाइते हुनेहरुमा सोही नगरपालिकाको वडा नम्बर १० बस्ने ३८ वर्षीया रतनी देवी पासमान र सोही ठाउँ बस्ने १६ वर्षकी अस्मिता कुमारी पासमान रहेका छन् ।
आरक्षभन्दा करिब १ किलोमिटर पश्चिम रहेको गहुँ खेतमा काम गरिरहेको समयमा अर्नाले उनीहरुलाई आक्रमण गरेको थियो । घाइते दुबै जनाको धर्मेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ ।
केही हप्ता अगाडि अर्थात् पुस ३ गते आरक्षबाट आएका अर्नाले आक्रमण गर्दा सप्तरीकै हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ९ का ७६ बर्षिय शुभेलाल मंडलको मृत्यु भएको थियो ।
आरक्षभित्र चरण क्षेत्र मासिदै गएकोले आहाराको खोजीमा नेपालमा मात्र पाईने जंगली भैंसी प्रजातीको हिंसक स्वभाव भएको अर्ना आरक्षभन्दा बाहिर निस्किने गरेको स्थानीय रामलखन पासमान बताउँछन् ।