वीरगन्ज । जनकपुर बोल्टस्को बिजयोत्सव सुरु गरेको छ । मधेस प्रदेश राजधानी जनकपुरबाट बिजयोत्सव सुरु गरेको हो ।
गत शनिबार सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधी जनकपुर बोल्टस्ले चुमेको थियो । सोही खुसीमा प्रदेशभरका क्रिकेट समर्थकहरुसँग खुसी साट्ने तयारी गरिएको क्रिकेट एशोसियसन धनुषाले जनाएको छ ।
एशोसियसनका अनुसार जनकपुर बोल्टस्ले मधेसको प्रतिनिधित्व गर्ने भएकाले पर्सासहित मधेसका हरेक जिल्ला–जिल्लामा पुगेर ‘ट्रफी परेड’ गरि बिजयोत्सव मनाउने योजना छ । त्यसक्रममा मधेस सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहसमेत सहभागी भएर खेलाडी र आयोजकको हौसला बढाएका छन् ।

एशोसियसनका सदस्य सरोज मिश्रका अनुसार बिजयी जुलुस जनकपुरबाट आजदेखि सुरु भइसकेको छ । जनकपुर उपमहानगरपालिका वडा नम्बर १४ रजौलमा जनकपुरधाम उपमहानगरपालिका–१४ रजौलस्थित रामजानकी अन्तर्राष्ट्रिय रङ्गशालाबाट दिउँसो १ बजेदेखि सुरु भएको परेड थापा चोक, पिडारी चोक, रामानन्द चोक, जिरोमाइल, विश्वकर्मा चोक, राम चोक हुँदै जानकी मन्दिर परिसरमा पुगेर सम्पन्न भएको थियो।

र्यालीमा जनकपुर उपमहानगरको गाडीसहित कार, जिप, ट्याम्पो, मोटरसाइकल लगायत हजारौँ क्रिकेट प्रेमीहरुको उपस्थिति छ ।

आजदेखि सुरु भएको जुलुस मंगलबारसम्म चल्ने उनको भनाइ छ । बिजयोत्सव मनाउन टोली आज बिहान जनकपुर झरेको हो । यद्यपी बिदेशी खेलाडीहरु फर्किसकेकाले स्वदेशी खेलाडी मात्र जुलुसमा सहभागि हुने उनको भनाइ छ ।
यसैबिच जनकपुर बोल्टस्ले शनिबार (भोली) महोत्तरीको जलेश्वर र सर्लाहीमा बिजयी उल्लास मनाउने छ । यस्तै आइतबार (पर्सी) रौतहट र बारा तथा सोमबार पर्साको वीरगन्जमा बिजयी जुलुस निकालिने उनले जनाए । वीरगन्जमा र्याली सकेर पूर्वका जिल्लाहरू सिरहा र सप्तरी पुग्ने कार्यतालिका छ ।
प्रदेशका आठवटै जिल्लामा र्याली निकाल्न र त्यसको व्यवस्थापनका लागि मधेस प्रदेश क्रिकेट संघसँग समन्वय गरिएको उनको भनाइ छ ।

