
वीरगन्ज । मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मधेश सञ्चार अनलाइन पोर्टलको उद्घाटन गरेका छन् । एम.एन.एन.मिडिया हाउसद्वारा सञ्चालित अनलाइन पोर्टलको सिंहले मंगलबार मुख्यमन्त्री कार्यालयमा उद्घाटन गरेका हुन् ।
एक कार्यक्रमबीच ‘मधेशसञ्चार’ अनलाइन पोर्टलको बटम थिचेर मुख्यमन्त्री सिंहले शुभारम्भ गरेका हुन् । उद्घाटन कार्यक्रममा समारोहमा बोल्दै मुख्यमन्त्री सिंहले मधेशसञ्चारलाई सफलताको शुभकामना दिए ।
प्रदेशका समस्या उठान गर्नुका साथै निष्पक्ष र स्वतन्त्र रुपमा समाचार सम्प्रेषण गर्नुपर्ने आवश्यकता रहेको उनले बताएका छन् ।
‘पत्रकारिता देशको चौथो अंग हो, प्रदेशमा थुप्रै अनलाइन मिडियाहरू छन् । खुल्ने क्रममा पनि छन् , तर पत्रकारहरूले नकारात्मकभन्दा सकारात्मक समाचारतर्फ ध्यान दिनुपर्छ’, उनले भने ।
अन्य सञ्चारमाध्यमले उठाउन नसकेका विषय मधेशसञ्चार अनलाइनले उठान गर्ने विश्वास पनि उनले व्यक्त गरे ।
‘मधेश प्रदेशका अन्य मिडियाहरुले उठान गर्न नसकेका मुद्दा यो अनलाइनले उठाउने विश्वास छ, यसरी सामाजिक तथा आम नागरिकको मुद्दाको उठान गरेर मधेश सञ्चार राष्ट्रियस्तरको मिडिया बनोस्, कामना पनि छ,’ उनले भने ।
राष्ट्रनिर्माणमा सञ्चारमाध्यमको उल्लेखनीय भूमिका हुने पनि उनले बताए । ‘राष्ट्र निर्माण कर्मचारी, राजनीतिकज्ञ तथा कर्मचारी र सुरक्षा निकायको सहयोगले मात्रै हुँदैन । यसमा पत्रकारको भुमिकासमेत उल्लेखनीय हुन्छ,’ उनले थपे, ‘त्यसैले तपाईंहरूको पेशाबाट पनि राष्ट्र निर्माणमा सकारात्मक टेवा पुगोस ।’
यसरी चारवटै पिल्लरले आ–आफ्नो ठाँउबाट सकारात्मक ढंगले काम गरेमा राष्ट्र निर्माणमा ठूलो योगदान पुग्ने सिंहले बताए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै ‘मधेशसञ्चार’ डटकमका सम्पादक केसी लामिछानेले आफ्नो मिडियाले प्रदेशका समस्याहरुको उठान गर्ने प्रतिबद्धता जनाए ।
मधेश सञ्चारमार्फत संवैधानिक दायराभित्र रहेर पत्रकारिता गर्ने प्रतिबद्धता सम्पादक लामिछानेले व्यक्त गरे । ‘मधेशसञ्चारले देश र प्रदेशको नीति नियममा रहेर समाचार उठाउने छ, साथै पत्रकार आचारसंहितामा रहेर लोकतन्त्रलाई थप मजबुत बनाउने गरी समाचार सम्प्रेषण गर्नेछ’, सम्पाक लामिछानेले भने ।