वीरगन्ज । नेपाली राष्ट्रिय क्रिकेट टोलीका आसिफ शेख र आरिफ शेखलाई गृह जिल्ला पर्सामा सम्मानित गरिएको छ । उनीहरुलाई जनही ५१ हजार नगद तथा प्रशंसा पत्रसहित सम्मानित गरिएको हो ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १० को कार्यालयले शेखद्वय दाजुभाइलाई नगदसहित प्रशंसापत्रले सम्मानित गरेको हो ।
वडाध्यक्ष सुशिल साह कानुले वीरगञ्जलाई प्रतिनिधित्व गर्दै दुवै खेलाडीले एनपिएलमा उत्कृष्ट प्रर्दशन गरेकोमा खुसी व्यक्त गरे ।
उनका अनुसार शेखद्वय दाजुभाइले वीरगन्जको नाम गर्वले उच्च बनाउनुका साथै आगामी दिनमा युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्न प्रेरणा समेत दिएको जानकारी दिए ।
वीरगञ्जलाई खेलकुदको माध्यमबाट राष्ट्रिय र अन्तरर्राष्ट्रियस्तरमा चिनाउने प्रयासमा सदैव आफ्नो साथ रहने उनको प्रतिबद्धता छ ।
आसिफ नेपाल प्रिमियर लिग (एनपिएल) पहिलो संस्करणको उपाधि बिजेता जनकपुर बोल्ट्स टोलीका सदस्य तथा आरिफ उपविजेता सुदृरपश्चिम रोयल्स टोलीका सदस्य थिए ।
उनीहरु वीरगञ्ज वडा नम्बर १२ मुर्ली नयाँटोल निवासी हुन् ।