ट्रेन्डिङ

मधेसमा श्रृङ्खलाबद्ध हत्या घटना : ६ दिनमा पाँच जनाको मृत्यु

६ महिनामा ३९ जना मारिए

वीरगन्ज । मधेसमा पछिल्लो समय हत्याका घटनाहरु फेरि उकालो लाग्ने क्रममा छन् । प्रहरीको अकर्मण्यता बढेपछि मधेसका विभिन्न जिल्लामा गरी ६ दिनमा ५ जनाको हत्या भएको छ । भने ६ महिनामा ३९ जना मारिएका छन् ।

यही बिहीबारदेखि मात्रै मधेसमा श्रृङ्खलाबद्ध हत्याको घटना भएको देखिन्छ, जनकपुरदेखि पर्सासम्ममा गरी ६ दिनमा ५ जनाको हत्या भएको छ ।

घटना–१

सुरु गरौं, पर्साबाटै । मंगलबार विहानै वीरगन्जको बसपार्कबाट एक पुरुषको शव फेला पर्‍यो । बीरगन्जको बसपार्कस्थित होटल कलसबाट ६५ वर्षीय पुरुष मृत भेटिएको पर्सा प्रहरीले जनायो ।

उनको साथबाट बरामद कागजातका अनुसार उनी महानगरपालिकाको वडा नम्बर १७ अलौं निवासी सन्त साह तुराहा रहेको खुलेको छ । प्रहरीका अनुसार उनी होटलमा सुतिरहेको अवस्थामा मृत भेटिएका छन् ।

मृत भेटिएका तुराहाको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा पठाइएको पर्सा प्रहरी प्रवक्ता किशोर लम्सालले बताए । ‘पोष्टमार्टम रिपोर्ट आइसकेपछि मृत्युको कारणबारे यथेष्ट विवरण खुल्नेछ,’ उनले भने ।

घटना–२

यो घटनाको ठीक तीन दिन अगाडि बारामा पनि एक जनाको शव फेला पर्‍यो । शनिपार विहान बागमती नम्बरको कारभित्र मृत अवस्थामा प्रहरीको भान्सेको शव फेला पर्‍यो ।

सिमरा उपमहानगरवडा नम्बर– ११ स्थितको सडकखण्डबाट कारभित्र फेला परेको उक्त शव प्रहरी भान्से राजकुमार रुम्बाको रहेको बारा प्रहरीले पुष्टि गरेको छ । पोष्टमार्टम रिपोर्टपछि प्रहरीले रुम्बाको सानो हतियारले हत्या गरिएको जानकारी दिएको छ । अर्थात् रुम्बाको हत्या गोली प्रहारबाट भएको प्रहरीले पुष्टि गरेको छ ।

शुक्रबार अबेर राती उनी राष्ट्रिय अनुसन्धान विभागका इन्स्पेक्टर श्रीकान्त तिवारीको बागमती प्रदेशको ०१–०२८–च– ७६१६ नम्बरको गाडी लिएर कलैया जानका लागि निस्केका थिए । त्यसको भोलीपल्ट उनी शनिबार विहान सिमराको मृत फेला हुन ।

घटना–३

यो घटनाको एक दिन पहिले महोत्तरीमा एकजना ज्येष्ठ नागरिकको हत्या भयो । अर्थात् शुक्रबार अबेर राती लुटेरा समूहले महोत्तरीको मनरा सिसवा नगरपालिका वडा नम्बर ४ निवासी ७३ वर्षीय सुशिल झाको हत्या गरी लुटपाटसमेत गर्‍यो । महोत्तरी प्रहरीका अनुसार मृतक झा पूर्वगाविस सचिवसमेत रहेका थिए ।

भाइको घरमा लुटपाट गर्न आएको लुटेरा समूहले उनको घरमा लुटपाट गर्न पुगेका थिए । प्रहरी भन्छ, ‘त्यहीक्रममा मृतक झाले लुटेराहरुमध्ये एकजनालाई तिमी पनि आयौं भनेर सोधेका थिए, त्यसपछि आफ्नो पोल खुल्ने डरले डाँका समूहले उनको हत्या गरेको देखिन्छ ।’

पर्सा, बारा र महोत्तरीमा मात्रै होइन । प्रदेश राजधानी जनकपुरमा यही साता दुइको जनाको शव फेला पर्‍यो। फरकफरक ठाउँमा विहान राती गरी दुइ जनाको मृत भेटिएको जनकपुर प्रहरीले जनाएको छ ।

घटना–४

जनकपुरमा शुक्रबार अबेर राति एकजनाको शव फेला पर्‍यो। मुर्लीचोकस्थित दुर्गा मन्दिर परिसरमा करिब ६० वर्षीय अरुण कुमार मिश्रको शव फेला परेको प्रहरी बताउँछ ।

मृत भेटिएका पुरुषको हत्या गरिएको हुन सक्ने जनकपुर प्रहरीको आंकलन छ । यहीकारणले प्रहरीले यो घटनालाई हत्याको घटनामा सूक्ष्म अनुसन्धान सुरु गरेको छ ।

घटना–५

यसैगरी जनकपुरमै बिहीबार राती अर्का एक पुरुषको शव फेला परेको जनकपुर प्रहरीले जनाएको छ ।

जनकपुर प्रहरीका अनुसार धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर–२ पुरन्दाहास्थित तलाउनजिकबाट शव फेला परेको हो । तर अहिलेसम्म उनको सनाखत हुन नसकेको जनकपुर प्रहरीले जानकारी दिएको छ ।

कहाँ कति जनाको हत्या ?

यो एक सातामा मात्रै होइन, नयाँ आर्थिक वर्ष सुरु भएको ६ महिनामा नै हत्याका घटनाहरु श्रृङ्खलाबद्ध भइरहेको प्रदेश प्रहरीको तथ्यांकले पुष्टि गरिरहेको छ ।

साउनदेखि पुसको पहिलो सातासम्म मधेसमा ३९ जनाको हत्या भएको छ । मधेस प्रहरीका अनुसार सर्लाहीमा ७ जना, बारामा ६ जना, महोत्तरीमा ५, धनुषा र सिरहामा ५/५ जना, रौतहटमा ४ जना, सप्तरीमा ६ र पर्सामा एक जनाको हत्या भएको छ ।

यसरी श्रृङ्खलाबद्ध हत्याका घटना हुँदा पनि मधेस प्रहरीले यसलाई भवितब्यको रुपमा लिइरहेको छ । प्रदेश प्रहरी प्रवक्ता सुबासचन्द्र बोहराका अनुसार नयाँ आर्थिक वर्षमा भएका हत्याका घटनाहरुका कारण मधेस सुरक्षा अवस्था बिग्रिएको भन्न मिल्दैन् ।

उनका अनुसार प्रदेश प्रहरीले आफ्नो दायित्व र जिम्मेवारी अनुसार काम गरिरहेको छ । तर यो बिग्रेको कहाँ हो भने मान्छेमा रिस बर्दास गर्ने सहनशक्ति हराउँदै गएको छ, जुनकारण हत्याका घटनाहरु हुन थालेका छन् ।

पछिल्लो समय मधेस सबै अपराधिक गतिविधि बढ्दो क्रममा रहेको उनी बताउँछन् । उनी भन्छन्, ‘त्यसैमध्ये एक हो–कर्तव्य ज्यानको घटना । यो अपराध पनि अहिले बढ्दो ट्रेन्डमा छ, यसका पछाडि पाँचवटा कारण छन् । जुन प्रहरीले विश्लेषण गरिसकेको छ । अब त्यसलाई नियन्त्रण गर्नका लागि प्रहरीले आफ्नै बेग्लै रणनीति लिइसकेको छ ।’

के हत्याका घटना बढ्नुमा प्रहरीको निस्क्रियता हो ? भन्ने सोधिएको प्रश्नमा प्रवक्ता बोहराले प्रहरीको अकर्मण्यता नबढेको बताए । उनका अनुसार प्रहरीको चुस्त सुरक्षा व्यवस्थाका कारण मधेस धेरै शान्त रहेको छ ।

यो सब भनेको खासगरी घरासयी विवाद, जग्गा विवाद, पुरानो रिसइबी, प्रेम सम्बन्ध र आर्थिक समस्याका कारण मधेसमा हत्याका घटनाहरुमा बढोत्तरी भएको प्रदेश प्रहरी प्रवक्ता बोहराको दाबी छ ।

तर जुनसुकै कारणले भएता पनि प्रदेश प्रहरीले यसको नियन्त्रणका लागि मधेसमा पहिलोपटक गृह आवास व्यवस्थापन सम्बन्धी अनुशिक्षण कार्यक्रम गरिरहेको उनको भनाइ छ ।

आपसमा सम्बन्ध सुधार, प्रहरीसंग समन्वय र रिसइवी तथा घरायसी विवाद कसरी कम गर्ने त्यो बारे जानकारी दिने उद्देश्यले अनुशिक्षण दिन थालिएको प्रदेश प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै