वीरगन्ज । बारा प्रहरीले ४३ किलो लागू औषध गाँजासहित भारतीय कार पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा सिम्रौनगढ नगरपालिका वडा नम्बर ४ हरिहरपुरबाट उक्त गाँजा पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढ र प्रहरी चौकी अमृतगञ्ज खाजानीबाट खटिएको टोलीले सवारी जाँच अभियान चलाएको थियो । सोही क्रममा तेलकुवाबाट सिम्रौनगढतर्फ जाँदै गरेको बिआर ०१ एयू ११०७ नम्बरको कारबाट पाँच पोकामा उक्त परिमाणको गाँजा बरामद भएको हो ।
प्रहरीलाई देख्नासाथ चालक भने फरार भएकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । बरामद करासहित गाँजामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।